जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १५:१०

‘सुदुरपश्चिम र कर्णालीलाई सहज स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल जरुरी’


दैलेख, असोज ८ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकासशरण महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकारसँग माग गर्नुभएको छ । उहाँले सुदुर पश्चिम र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताउनुभयो । बुधबार दैलेखको राकममा नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुसँग भेटघाट गर्दै सह–महामन्त्री महतले सुदुर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल जरुरी रहेको तर्क गर्नुभयो ।

कर्णाली र सुदुरका जिल्लाका जनताले सिटामोलसम्म खान नपाएर तड्पीरहेको बेला सरकार मौन रहेकोसमेत महतले आरोप लगाउनुभयो । उहाँले मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरकारुपमा राकम बजारलाई विकास गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । महतले भन्नुभयो, ‘हामी सबै तिर बिकास गरौ भनिरहेका छौँ, सरकार भने हाम्रो कुरालाई बेवास्ता गर्दै भ्रष्टाचारमा लिप्त छ ।’ नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार संस्थागत भ्रष्टाचार चुरलुम्म डुबेको सहमहामन्त्री महतको भनाई थियो ।

सोही भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले कर्णाली र सुदुर पश्चिमलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो । शाहले कर्णाली र सुदुर पश्चिमवासी यहि देशका नागरिक भएको भन्दै सरकारले कर्णाली र सुदुरपश्चिममा विकास निर्माणका कार्य गर्न किन हिचकिचाएको भन्दै प्रश्न गर्नुभयो ।