जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार १४:२८

३६ दिनपछि खुल्यो पर्सा गाउँपालिकाको तालाबन्दी


सर्लाही, ८ चैत । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी बुधवार अपरान्ह खुलेको हो । असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका सम्वन्धमा आगामी कार्यपालिका बैठकमा छलफल भएपछि योजना सञ्चालन गर्ने सहमति गरी गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोलिएको छ ।

गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आफूहरुको मागका सम्वन्धमा अर्को बैठकमा बृहत छलफल गर्ने गरी तत्काल तालाबन्दी खोल्ने सहमति गरेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सहमतिपश्चात गाउँपालिका अध्यक्ष राय, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवसहितको उपस्थितिमा गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो । तालाबन्दी खुलेसँगै आजबाट गाउँपालिकाको कामकाज नियमित सूचारु भएको छ । ३६ दिनसम्म गाउँपालिकामा तालाबन्दी हुँदा स्थानीय निराश बनेका थिए ।

गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७९/०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरुको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फछ्र्यौट गर्नुपर्ने लगायतका माग राखेको पत्रकार मुकेश झाले जानकारी दिनुभएको छ ।