जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार २०:१५

चौमाला प्रहरी प्रमुखमाथि कुटपिट


धनगढी, ८ चैत । कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ । आज इलाका प्रहरी कार्यालय, चौमालाका इन्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो । चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरी बिचमा विवाद भएको थियो । चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इन्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडी कुटपिट गरेका हुन् ।

तर, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चोरीको स्कुटरको विषयमा सामान्य विवाद भएको बताउनुभयो । यता, इन्चार्ज कठायतले प्रयोग गर्ने ९८५८४९०३११ नम्बरको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रहरीले चोरीको स्कुटर फेला पारेपनि भगाएको भन्दै स्थानीय युवाहरूले झगडा गरेका थिए । स्कुटरको अगाडि र पछाडिको नम्बर फरक हुँदा पनि महिला सवार चोरीको स्कुटर प्रहरीले छोडेको आरोप स्थानीय युवाहरूको छ । तर, प्रहरीले मान्छे नचिनेकाले घटना भएको जिकिर गरेको छ । राजनीतिक रूपमा मिलाउने प्रयास भएकाले प्रहरीले घटना लुकाउन खोजेको एक स्थानीयले बताउनुभयो ।