काठमाडौं, चैत ९ । नेकपा एमालेले प्रदेश कमिटी अध्यक्षको बरियता घटुवा गरेको छ । स्थायी समिति र पोलिटब्यूरोका सदस्यहरुको विरोधपछि प्रदेश अध्यक्षहरूको वरीयता घटाउने निर्णयमा एमाले पुगेको हो ।
प्रदेश अधिवेशनभन्दा अघि मात्रै एमालेले प्रदेश अध्यक्षको हैसियत पोलिटब्यूरोको पदने सदस्यसरह हुने जनाएर केन्द्रीय कमिटीभन्दा माथिको बरियता तय गरेको थियो । सोही निर्णयका कारण केन्द्रीय कमिटी सदस्यहरु प्रदेश अध्यक्षमा आकांक्षी बन्दा अधिकांश स्थानमा चुनावबाट नेतृत्व चयन गर्नुपर्ने अवस्था आयो ।
पार्टीको यो निर्णयले केन्द्रीय कमिटी सदस्यभन्दा प्रदेश कमिटी अध्यक्ष माथिल्लो हैसियतमा हुँदा काममै असर परेको निश्कर्षसहित स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरुले निर्णय फेर्नुपर्ने अडान राखेका हुन । सोही अडानका कारण प्रदेश कमिटीका अध्यक्ष पुनः पुरानै बरियतामा पुगेका छन । जसअनुसार अव प्रदेश अध्यक्षहरूको बरियता केन्द्रीय कमिटी सदस्यसरह मात्र रहनेछ ।
अघिल्लो जेठमा केन्द्रीय सचिवालय बैठकबाट एमालेले प्रदेश कमिटी अध्यक्षहरूको वरीयता पोलिटब्युरो सदस्यसरह हुने निर्णय गरेको थियो । तर गत ८, ९ र १० फागुनमा केन्द्रीय कमिटी बैठक चलिरहेका वेला बसेको स्थायी समिति बैठकमा प्रदेश अध्यक्षको वरीयताको विरोध गर्दै बहुसंख्यक स्थायी कमिटीका नेताहरूले प्रश्न उठाएपछि घटुवा गर्ने निर्णय भएको स्थायी समितिका एक सदस्यले जनताटाइम्स डटकमलाई बताए ।
ती सदस्यका अनुसार स्थायी समितिका सवै नेताहरुले प्रदेश अध्यक्षको बरियता केन्द्रीय कमिटीभन्दा माथि राख्न नमिल्ने भन्दै सच्याउनु पर्ने सुझाव दिएका थिए । स्थायी समितिमा नेताहरूको विरोध र दबाब थेग्न नसकेपछि अध्यक्ष केपी शर्मा ओलीले विरोध र असन्तुष्टि जायज भएकोले सच्याउने प्रतिवद्धता जनाउनु भएको ती नेताको भनाई छ ।
केन्द्रीय कमिटी बैठक सम्पन्न भएको एक महिना हुन लाग्दा पनि निर्णयसहित वरीयता घटाइएको सर्कुलर भने पठाइसकिएको छैन । ‘प्रदेश अध्यक्षलाई एकैपटक दुई तह माथि ल्याएर पोलिटब्युरो सदस्य मान्दा पार्टीले अभ्यास गर्दै आएको लेनिनवादी संगठनात्मक पद्धति भत्किने भएकाले निर्णय सच्याउन अध्यक्षको ध्यानाकर्षण गराउँदै सबैजसो स्थायी समिति सदस्यले विरोध गर्नुभयो । अध्यक्षले सवैको आवाज सुनेपछि सच्याउने प्रतिबद्धता जनाउनु भयो,’ स्थायी समितिका अर्का नेताले भने ।
निर्वाचित प्रदेश अध्यक्षहरूले चार महिनायता दुईवटा केन्द्रीय कमिटी बैठकको निर्णयपुस्तिकामा पोलिटब्युरो सदस्यको सूची र मर्यादाक्रममा हस्ताक्षर गर्नुभएको छ । अब भने केन्द्रीय सदस्य सोसरहको मर्यादामा रहनेछन । पछिल्लो केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूले आ–आफ्नो प्रदेशका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको टोली नेताका रूपमा समग्र प्रदेशको रिपोर्टिङ गर्नुभएको थियो ।
एमालेमा पहिलो प्रदेश अधिवेशनबाट कोशीमा घनश्याम खतिवडा, मधेशमा चन्द्रेश्वर मण्डल, बागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल र कर्णालीमा गुलाबजंग शाह, सुदूरपश्चिममा कृष्णप्रसाद जैसी र एमाले उपत्यका विशेषमा प्रेम पराजुली अध्यक्ष हुनुहुन्छ । उहाँहरूमध्ये कर्णाली अध्यक्ष शाह पोलिटब्यूरो र बागमतिका अध्यक्ष ढुंगेल केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
उपत्यकाका पराजुली र सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत भने केन्द्रीय सदस्यका रूपमा मात्र बैठकमा सहभागी हुँदै आउनु भएको थियो । गत ८, ९ र १० फागुनमा केन्द्रीय कमिटी बैठकमा स्थायी समिति सदस्यले उनीहरूको वरीयताको विरोध गरेपछि एमालेले घटुवा गर्ने निर्णय लिएको हो ।
प्रतिक्रिया दिनुहोस्