जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार २०:२४

कांग्रेसले फिर्ता लियो मधेशको समर्थन


जनकपुरधाम, ९ चैत । नेपाली कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलले सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाएको हो । कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिएको भन्दै अब प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । सत्ता समीकरण बदलिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई राजिनामा दिन आग्रह गर्नुभएको थियो ।

कांग्रेसबाट दलका नेता यादव भौतिक पूर्वाधार विकास मन्त्री, विरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह, संचारमन्त्री तथा कानून मन्त्री हुनुहुन्थ्यो । कांग्रेसलाई सरकारबाट हटाएर मुख्यमन्त्री यादवले तीनै मन्त्रालय नेकपा एमालेलाई दिएको छ । एमालेबाट दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको छ । हाल उहाँलाई नै गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

जसपा संसदीय दलका नेता यादवलाई सुरुमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्री बनाएर सरकार गठन गरेको थियो । तर सत्ता समीकरण बदलिएर कांग्रेससहितको समीकरण बनेपछि पनि मुख्यमन्त्रीमा यादवले नै निरन्तरता पाउनुभयो । अहिलेको पुरानै गठबन्धन ब्यूतिएपछि पनि मुख्यमन्त्री यादव नै कायम रहनुभएको छ । अहिले प्रदेश सरकारमा जसपा, एमाले, नेकपा एस, नेकपा माओवादी केन्द्र र लोसपा छन् ।