जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार २०:५३

एमाले कास्कीको अधिवेशन पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने, ९ सय ३५ प्रतिनिधि छनौट


पोखरा, ९ चैत । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशन भोलीदेखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुुहुनेभएको छ । एमाले कास्कीले आज पत्रकार सम्मेलन गर्दै अधिवेशतको तयारी पूरा भएको जनाएको हो । अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।

उक्त कमिटीले थप २१ जना मनोनित गरी १४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । अधिवेशनका लागि ९ सय ३५ प्रतिनिधि छनौट भएको अध्यक्ष गुरुङले बताउनुभयो । कास्कीमा यसअघि भएको जिल्ला अधिवेशनमा दुई पक्षले प्यानल बनाएर अगाडि बढेका थिए । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी प्यानल प्रतिस्पर्धा गर्नुभएको थियो । यसपालि प्यानल बनाएर निर्वाचन लड्ने दुवै पक्ष आन्तरिक तयारी छ । गुरुङ पक्षबाट हालका उपाध्यक्ष तेजनारायण अधिकारी, दीपक पौडेल, माधव बास्तोला र अधिकारी पक्षबाट हालका सचिव बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षका सम्भावित उम्मेदवार हो ।

नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने अध्यक्ष गुरुङको दाबी छ । ‘लोकतान्त्रिक व्यवस्थामा एउटा पदमा ३÷४ जनाले आकांक्षा राख्न सकिन्छ । यो लोकतान्त्रिक विधि पनि हो । अधिवेशन जनवाद पनि हो । त्यसो हुनाले विचार राख्न पाइन्छ । उम्मेदवार बन्न पनि पाइन्छ । विचारको बहस र छलफल गरेर अन्त्यमा एकता प्रस्तुत गरेर सर्वसम्मत नेतृत्व चयनको काम गर्छौं,’ उहाँले भन्नुभयो । स्थायी कमिटी सदस्य एवं कास्की इञ्चार्ज थममाया थापाले एमालेमा विचार प्रस्तुत गरेर बहस गर्नु सकरात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘छलफल बहस हुनु स्वभाविक कुरा हो । वैचारिक, राजनीतिक, सांगठनिक हरेक विषयमा छलफल हुन्छ ।’