जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १९:१७

चर्चित तेलुगु कमेडियन वेनु माधवको निधन


नयाँ दिल्ली, असोज ८

चर्चित तेलुगु कमेडियन वेनु माधवको ३९ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएका कारण सिकन्दरवादको कर्पोरेट अस्पतालको आईसियूमा राखिएका उनको बुधबार दिउँसो निधन भएको हो ।

लामो समयदेखि कलेजोको रोगबाट ग्रसित उनलाई १० दिन अस्पतालमा राखेर आइतबार मात्रै डिस्चार्ज गरी घर पठाएको थियो । डाक्टरले वेनुको कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका थिए ।

तर एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मगंलबार बेलुकी नै फेरि अस्पताल लगिएको थियो । त्यसको भोलिपल्ट उनको अस्पतालमै मृत्यु भएको हो ।

लामो समयदेखि अस्वस्थताका कारण उनी चलचित्रबाट टाढा बसिरहेका थिए । तर गत डिसेम्बरमा मात्रै उनले विधानसभा चुनावका लागि नामांकन पत्र पेस गरेका थिए ।

मिमिक्री आर्टिस्टबाट कमेडियन बनेका वेनुले १७० भन्दा बढि तेलुगु र केही तमिल चलचित्रमा काम गरिसकेका छन् ।

उनले चलचित्र ‘सम्प्रदायम’ चलचित्रबाट डेब्यू गरेका थिए भने उनको अन्तिम अभिनय रहेको चलचित्र डा। परमानन्दैयाको ‘स्टुडेन्ट ग्याङ्ग इन २०१६’ हो ।