जनता टाइम्स

११ चैत्र २०८०, आईतवार १५:०७

इलाम-२ मा सुवासपुत्र सुहाङलाई उम्मेद्वार बनाउने एमालेको निर्णय


काठमाडौं, चैत ११ । नेकपा एमालेले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेले संबिधानसभा अध्यक्ष सुवासचन्द नेम्वाङको निधनपछि रिक्त रहेको थियो । सो निर्वाचन क्षेत्रमा आगामी बैशाख १५ गते उपनिर्वाचन तोकिएको छ । एमालेले उपनिर्वाचनमा उम्मेदवार बनाएका सुहाङ नेता सुवासकै छोरा हुनुहुन्छ ।

सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुनहुन्छ । पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा राजनीति गतिविधिसँगै भेटघाट र अन्तरक्रिया बढाउनु भएको थियो भने एमालेले फागुन ३ गते कानून बिभागमा मनोनीत गरेको थियो ।

एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा पार्टीबाट उठाएको उम्मेदवार सुहाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने जनाएको छ । सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताउनु भयो ।

‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं,’ ज्ञवालीले भन्नुभयो । रास्वपाले यसअघि नै आफ्नै उम्मेदवार उठाउने निर्णय गरिसकेको छ ।