जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार ००:०१

बिभागका प्रमुख र सचिवहरुसँग जंगिए एमाले अध्यक्ष ओली, दिए ३ बुँदे कडा निर्देशन


काठमाडौं, चैत १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूसँग समन्वय गरी देखिने गरी आवश्यक सहयोग गर्न पार्टीका विभागीय प्रमुख र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सकिएलगत्तै आइतवार सवै बिभागमा प्रमुख र सचिवहरूको बैठक राखेर अध्यक्ष ओलीले सरकारलाई प्रभावकारी बनाउनका लागि मन्त्रीहरुलाई सहयोग गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा अध्यक्ष ओलीको निर्देशन उधृत गर्दै एक सदस्यले भने, ‘मन्त्रीहरुलाई सहयोग गर्नाेस, आवश्यक सूचना दिएर प्रभावकारी निर्णयको लागि सहयोग गर्नाेस, सरकारलाई सहयोग पुग्नेगरी समन्वय गर्नाेस ।’ अध्यक्ष ओलीले बर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै सवै बिभागले आफ्नो क्षेत्रको मन्त्रीलाई सहयोग गर्न र बिशेषत एमालेका मन्त्रीहरुको काम प्रभावकारी बनाउनका लागि भूमिका खेल्न निर्देशन दिनुभएको हो ।

‘हाम्रो पार्टीको विभागहरू मन्त्रालयसँग मिल्दोजुल्दो नै छन्, सबै विभागले आफ्नो विभागीय मन्त्रीहरूसँग समन्वय र सहयोग गर्नुपर्छ’ अध्यक्ष ओलीको निर्देशन थियो । बैठकमा सहभागी एक नेताका अनुसार, समीकरण बदलेर सरकार निर्माणको औचित्य पुष्टि गर्न पनि विभागीय सहयोग आवश्यक रहेको निश्कर्ष अध्यक्ष ओलीले निष्कर्ष सुनाउनु भएको छ ।

‘यो सरकारलाई असफल हुने छुट छैन, त्यसैले मन्त्रीहरूसँग आपसी समन्वय र सुझावको वातावरण बनाउनुपर्छ,’ अध्यक्ष ओलीको भनाई थियो । आफ्नो निर्देशनको क्रममा अध्यक्ष ओलीले बिभागमा बसेर सरकार, मन्त्री र पार्टी निर्णयको आलोचना गर्न वा अबज्ञा गरेर हिडन नपाइने सामान्य कुरासमेत नभएको भन्दै प्रमुखहरुसँग कडा प्रश्नसमेत गर्नुभएको छ ।

यसैगरी अध्यक्ष ओलीले बैठकमा १६औं पञ्चवर्षीय योजनाका निम्ति सुझावहरू तयार पार्न समेत बिभागलाई निर्देशन दिनुभएको छ । बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमालसहितका नेताहरु सहभागी हुनुहुन्थ्यो । एमाले उपमहासचिवत्रय बिभागको समेत प्रमुख हुनुहुन्छ ।