जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार ०६:५०

चीनले देखायो भौतिक निर्माणमा अर्को चमत्कार, स्टारफिस आकारको विशाल विमानस्थल सञ्चालन


काठमाडौं, असोज ९ । चीनमा स्टारफिस आकारको विशाल विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ । चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल अन्तराष्ट्रिय विमानस्थल डासिङ विमानस्थल सञ्चालनमा आएको छ ।

चीनका राष्ट्रपति सि चिनफिङले बेइजिङस्थित डाशिङ अन्तराष्ट्रिय विमानस्थलको बुधबार औपचारिक उद्घाटन गरेका छन् । उक्त विमानस्थल सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ । अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रै ठूलो छ । चीनको विमानस्थल परिषद्का अनुसार चीनमा विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको हो । डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ ।

सन् २०२५ भित्र १७ करोड यात्रुहरू उक्त विमानस्थल हुँदै बेइजिङ आउने अपेक्षा गरिएको छ । नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ । ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्रा्िष्ट्रय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन ।

यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन् । यो विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्यूयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तराष्ट्रिय विमानस्थल भएका छन्।