जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार १६:०९

नेपालमा बार्षिक ३५ सय मेट्रिक टन मात्रै मह उत्पादन, ८ हजार मेट्रिक टन बढीको माग


सर्लाही, १३ चैत्र । ‘दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन’ भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ । नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाको हरिवन नगरपालिकामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आफ्नो धारणा राखेका थिए । ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैं साथमा, खाऔं आफ्नो बारीको, नखाऔं सिमा पारी’ को भन्ने कार्यक्रमको मूल नारा रहेको थियो ।

सर्लाहीमा करिब ३ सय जना मौरीपालक किसान रहेको भए पनि हाल १ सय जना सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाहीमा वार्षिक सालाखाला २ सय मेक्ट्रिक टन मह उत्पादन हुने गरेको छ । उत्पादित मह सर्लाहीसहित काठमाडौं देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य हेमराज देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटन सम्म मह उत्पादन हुने गरेको र उत्पादित मह डावर नेपाल र सालट्रिनिङलाई बिक्री वितरण गरिएको थियो । जलवायु परिवर्तन, वन विनाश (डडेलो) र किसान प्रति राज्यले गर्ने गरेको बेवास्ताका कारण मह उत्पादनमा ह्रास आएको केन्द्रीय सदस्य देवकोटाले बताउनुभयो । पछिल्लो समय तेस्रो मुलुकबाट निर्बाधरूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किसानले महको उचित मूल्य प्राप्त गर्न नसकेको मौरी किसानहरूले बताउनुभयो । नेपालमा वार्षिक ३ हजार ५ सय मेट्रिक टनको हाराहारीमा मह उत्पादन भएको छ । यहाँ वार्षिक ८ हजार मेट्रिक टन भन्दा बढी महको माग रहेको छ ।