जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार २२:४८

फेसबुक स्ट्याटस निकाल्दै बाग्मतीका नेताहरुसँग जंगिए अध्यक्ष ओली


काठमाडौं, चैत १३ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा माथिल्लो कमिटीका नेताहरुलाई अपमान गर्ने गरी सामाजिक सञ्जालमा स्ट्याटस नलेख्न निर्देशन दिनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले पार्टीका नेता÷कार्यकर्ताहरुले आफू भन्दा माथिका नेताहरुलाई लक्षित गरी तथानाम स्ट्याटस लेखेको भन्दै गलत स्ट्याटसहरु कारबाहीको दायरामा आउने चेतावनी पनि दिनुभयो ।

उहाँले पार्टीका आन्तरिक कुराहरु र नेताहरुलाई विपक्षी बनाएर जथाभावी रुपमा स्ट्याटस नेलख्न नेताहरुलाई नै सचेत गराउनु भएको हो । कुनै विमति भए पार्टीभित्रका कमिटीमा छलफल गर्न सकिने उहाँको भनाई छ । अध्यक्ष ओलीले आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिनसक्ने गरी मात्रै लेख्न पनि सुझाउनु भयो ।

‘मैले कतिपय साथीहरुका स्ट्याटसहरु हेरेको छु । नेताहरुको स्ट्याटसहरु हेरेको छु । आफूभन्दा माथिका नेताहरुलाई तथानाम बोलेर हिडेको पाको छु । जथाभावी सट्याटस अव कारबाहीको विषय बन्नेछ,’ बैठकमा निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘म सचेत पनि गराउन चाहन्छु । यदी बेलगाम भयो मान्छे, छाडा भयो भने थाहा छैन जथाभावी लेख्नुहुँदैन भन्ने । यहाँ कमिटीमा छलफल गर्नुस । बाहिर किन स्ट्याटस लेख्नुहुन्छ ? त्यस्तो गतल काम नगर्नुस ।’

अध्यक्ष ओलीले पार्टीको आन्तरिक कुरा आन्तरिक रुपमै छलफलको बिषय हुनुपर्ने स्थापित पद्धतीसमेत सिकाउनु भएको छ ।

‘पार्टीभित्रका आन्तरिक कुराहरुमा कसैलाई पक्ष, विपक्ष गरेर स्ट्याटस नलेख्नुस । मैले स्ट्याटस लेख्दा सावधानी साथ लेखिन भने के हुन्छ ?,’ बैठकमा अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले यसका अर्थ त दिनुपर्छ । आफ्नो स्ट्याटसको जवाफ मैले दिनुपर्दैन ? म अध्यक्ष हुँ ठोकिदिएँ भनेर हुन्छ ? त्यो हुँदैन ।, म पनि जिम्मेवार भएर लेख्नुपर्छ । मैले भनेका कुरा मैले जिम्मेवारी लिनुपर्छ, स्ट्याटस त्यसरी नलेख्नुस, भनेर नहिँड्नुस । आफ्नो तौर तरिकालाई सच्याउनुस । त्यसले आफूलाई सक्षम बनाउँछ । योग्य बनाउँछ ।’

उहाँले आफ्ना अभिव्यक्तिहरु जवाफ दिनसक्ने गरी मात्रै व्यक्त गर्न आवश्यक रहेको धारणा पनि राख्नुभयो । अध्यक्ष ओलीले गोष्ठी र सेमिनारका नाममा भइरहेको खर्चप्रति पनि कडा आलोचना गर्नुभयो । गोष्ठी र सेमिनारका नाममा धुस्नु खर्च भएको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले किसान सम्बन्धी गोष्ठी स्टार होटलमा नभई गाउँमा हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । सरकारले किसानसँगै खेतमा, बारीमा, बगैंचामा, गोठमा गोष्ठी गर्नुपर्ने भन्दै ओलीले भन्नुभयो, ‘अहिले सरकारको रिपोर्ट हेर्ने हो भने गोष्ठी र सेमिनारमा यस्तो धुस्नु खर्च भएको छ कि किसान सम्बन्धी गोष्ठी हुन्छन स्टार होटलमा । त्यो त गाउँमा हुनुपर्ने गोष्ठी हो ।’ उहाँले यस्तो खर्च रोक्न एमालेका सवै कमिटीहरु लाग्नुपर्ने बताउनु भयो ।

‘बुद्धिजीवी गाउँमा जानुपर्ने हो किसान त यहाँ आउँदैनन । गाउँमा गएर बुद्धिजीवीले गोष्ठी गर्नुपर्ने, सरकारले खर्च गाउँमा गर्नुपर्ने,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले खर्च गाउँमा गर्नुपर्ने, खेतमा, बारीमा, बगैंचामा, गोठमा गोष्ठी गर्नुपर्दछ । गोष्ठीका नाममा कुनै गोष्ठी सु–सम्पन्न हुन्छ अर्थोक केहि पनि हुँदैन । खर्च भव्य हुन्छ,गोष्ठी सु–सम्पन्न हुन्छ अर्थोक केहि पनि हुँदैन। त्यस्ता खालका कुराका अर्थ हुँदैन।’