जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार ०८:३०

त्रिसुली नदीको ठिमुरामा निर्माण भयो तनहुँ र चितवन जोड्ने पक्की पुल


तनहुँ, चैत १४ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा सो पुल निर्माण भएको हो । विसं. २०७१ कात्तिक २० गतेबाट सो पुल निर्माणको काम थालिएको थियो ।

सो पुलको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उदघाटनका लागि अनुरोध गर्ने निर्णय भएको छ ।