जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १२:४८

भन्सारको मोटरसाईकल प्रहरीको मिलोमतोमा सस्तोमा बिक्री गरिदैँ


भैरहवा, १४ चैत । भैरहवा भन्सार कार्यालयले लिलामी निकालेको स्क्रेप मोटरसाइकल बजारमा चालु हालतमा पठाउने गरेको पाइएको छ । भन्सार कार्यालयले विभिन्न मुद्धामा रहेका पत्रु (स्क्रेप)दुई पाङग्रे मोटरसाइकल र स्कुटर लिलामी प्रक्रियाकाबाट विक्री गरेकोमा लिलामी सकार्ने प्रतिष्ठानले मोटरसाइल र स्कुटर पुनः प्रयोग गर्न मिल्ने गरी विक्री गर्ने गरेको हो । जस्को नेतृत्व जिल्ला प्रहरी कार्यालय मातहत रहेको युनिट इन्चार्जले गरिरहेका छन ।

विगत ७–८ वर्ष देखि रुपन्देही सिमा आसपास क्षेत्रमा सरुवा मिलाई लिलामी सकार्ने समूहमा रहेका असई राजकुमार केसीकै योजनामा ति मोटरसाइकल गलाउनु पर्ने ठाउमा गलत प्रयोग भएको छ । भन्सार कार्यालयले कार्यालयले १ सय ४ वटा मोटरसाइकल तथा सकुटर जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा र १ सय ८० वटा पत्रुमा लिलामी बिक्री गर्नका २१ दिने सार्वजनिक सूचना जारी गरेको गरेको थियो ।

चोरीपैठारीका क्रममा जफत भएर प्रयोजन बिहिन बनेका विभिन्न ब्रान्डका त्यस्ता मोटरसाइकल तथा स्कुटर लिलामीमा बिक्री गर्नका लागि मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्य तोकेको थियो । तर १८० वटा मोटरसाइकल लिलामी प्रक्रियाबाट अधिकतम मुल्यमा एम एस सप्लायर्स सिद्धार्थनगर ८ ले उक्त पत्रु मोटरसाइकल सकारेर भैरहवाबाट बेच्दै आएको छ । मंगलबार सम्म ति मोटरसाइकल मध्ये १ सय ३ वटा मोटरसाइकल मात्रै पार्किङमा रहेको पाइएको छ ।

विभिन्न ४ वटा प्रतिष्ठा लिलामी प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये ८ लाख ७५ हजारमा एम एस सप्लायर्स ले उक्त १८० वटा मोटरसाइकल सकारेको थियो । सकारेको मोटरसाइकल पत्रु गलाउने तरिकाले विक्री गर्नु पर्नेमा भन्सार कार्यालय र लिलामी सकार्नेको मिलेमतोमा उक्त मोटरसाइकल बजारमा पत्रुका लागि नकाटी अवैध तरिकाले विक्री गरिरहेको छ ।

स्रोतका अनुसार यसमा भन्सार कार्यालयको मुदा शाखा, लेखा शाखाका कर्मचारीहरुको संलगनता रहेको छ । भन्सारको केही कर्मचारी र व्यवसायीहरुको सेटिङ्गमा कम भन्दा कम मुल्यमा भन्सार सकार्ने गरेको पटकûपटक तथ्य बाहिरीने गरेको छ । मोटरसाइकल सरदर ४ हजार ८ सय रुपैयामा सकारेपनि असई केसीकै निगरानी र निर्देशनमा त्यस्तो अवस्था अनुसारको दर पछि मात्रैै विक्री हुने गरेको छ ।

भन्सार ऐन तथा नियमावली २०६४ को दफा ३६ को ८ मा उत्पादन भएको मितिले दश वर्ष नाघेका सवारी साधन वा इञ्जिन नम्बर वा चेसिस नम्बर वा उत्पादन वर्ष नखुलेका वा अधिकांश पार्टपुर्जा झिकिएका वा भौतिक अवस्था कमजोर भई मर्मत तथा सञ्चालन गर्न लागतका दृष्टिकोणले उपयुक्त नदेखिएको सवारी साधन लिलाम गर्दा लिलाम सकार गर्ने व्यक्तिकै खर्चमा पुनः सवारी साधनको रुपमा प्रयोगमा आउन नसक्ने गरी पत्रु बनाई सो व्यहोरा प्रज्ञापनपत्रमा नै उल्लेख गरी लिलाम गर्नु पर्नेछ भनी उल्लेख भएपनि ती १८० वटा मोटरसाइकल भन्सार कार्यालयले पुनः प्रयोग गर्न मिल्ने गरी लिलाम सकार्नेलाई दिएको छ ।

लिलाम सकार्नेले भने उक्त मोटरसाइकलहरु भैरहवाको नयाँ सडकबाट स्क्रेप गोदामबाट कतिपय मोटरसाइकल प्रति गोटाको दरले जे जस्तो अवस्थामा छ नकाटी विक्री गर्ने गरेको छ । विक्री गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी युनिट इञ्चार्जको पनि संलग्नता रहेको छ । हालै मात्रै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका असई राज कुमार केसी मेउडिहवा प्रहरी चौकीका इञ्चार्ज हुन, उनकै निर्देशनमा ती मोटरसाइकलहरुको अवस्था अनुसार विक्री भइरहेको छ ।

लिलाम सकार्नेले सर्वसाधारणलाई मोटरासाइकल बेच्दा आफ्नो जोखिममा मोटरासाइकल लिनुपर्ने भन्दै बेच्ने गरेका छन । स्क्रेप गोदाम नजिकै रहेको मोटरसाइकल मर्मत पसलबाट ती मोटरसाइकलहरु सामान्य मर्मत पछि चालु हालतमा बनाई बेच्ने गरेको छ । स्रोतका अनुसार लिलाम सकार्ने व्यक्तिहरुसँग प्रहरी इन्चार्जको साझेधारी छ । केसीकै भतिजले मोटरसाइकल राखेको गोदामको रिर्पोट गरिररहेका थिए, घटना सावर्जनीक भएपछि केसीले भतिजलाई त्यहाबाट हटाएका छन । असई केसीले भने अफ्नो कुनै संलग्नता नभएको बताउँनुहुन्छ ।

‘म टायर लिनका लागि त्यहाँ पुगेको मेरो त्यस्तो कुनै संलगनता छैन’ उहाँले भन्नुभयो । मोटरसाइकल राखेको ठाउँमा भने तिनै केसीले भोलीबाट काट्नु पर्छ भन्दै पत्र स्क्रेप संचालकलाई दिनुभएको थियो । संचालकलाई शंका लागेपछि उक्त कागज केसीलाई नै फर्काउनुभएको थियो । सो ऐनको दफा ५४ मा भन्सार कार्यालयमा दाखिला भएका सवारी तथा ढुवानीका साधन, यस नियमावली बमोजिम लिलाम बिक्री गर्नु पर्ने मालवस्तु तथा ऐनको दफा ७१ को उपदफा (३) बमोजिमको मालवस्तुको मूल्याङकन गर्ने प्रयोजनका निमित्त भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजको कार्य गर्ने गरी तोकिएको व्यक्ति संयोजक रहने गरी मूल्याङन समिति रहनेछ ।

जस्को सदस्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, सम्बन्धित उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि, सवारी र ढुवानी साधनको हकमा मेकानिकल प्राविधिक सदस्य रहने उल्लेख छ । तर यस्को मुल्याङकन के आधारमा भयो, मेकानिकल इन्जिनियरले के आधारमा प्रतिवेदन दियो यसबारे रिर्पोट आउन बाकी छ । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले प्रक्रिया अनुसार नै लिलाम गरिएको बताए । हामीले चेसिस नम्बर र इन्जिन नम्बर काटेर पठाएको तर मोटरसाइकल नकाटेको उहाँले भन्नुभयो । पत्रु गलाउने भनेर नै पठाएका छौं, पुनःप्रयोग गर्ने गरी विक्री भएको भन्ने बारे अनुसन्धान गर्ने बताउनुभयो ।