जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १३:५८

कांग्रेस सांसद थानीको रविलाई व्यंग्य : प्रधानमन्त्रीमा तपाईंको पालो आउन बेर छैन


काठमाडौं, १४ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अब प्रधानमन्त्री बन्ने बलियो सम्भावना रहेको भन्दै व्यंग्य गर्नुभएको छ ।

राज्य व्यवस्था समितिको बैठक अहिले तेस्रो दलबाट प्रचण्ड प्रधानमन्त्री बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘अब तपाईंको पालो पनि आउन बेर छैन ।’ उहाँले भन्नुभयो,‘समितिको सदस्य हुँदा सबै मिल्थ्यो । मन्त्री भइसकेपछि कुरा नमिल्ने अवस्था नबनोस् । हिजो समितिमा बोल्दा र मन्त्री भएर बोल्दा फरक बोली नहोस् । पहिलो दल र दोस्रो दल उपप्रधानमन्त्री हुन सकिरहेका छैनन् । तर, तपाईं प्रधानमन्त्री बन्ने सम्भावना पनि बलियो छ । अहिले तेस्रो दल प्रधानमन्त्री बन्नुभएको छ । अब तपाईंको पालो पनि आउन बेर छैन ।’ त्यस्तै उहाँले सबैलाई एकरुपता कानुन अनुसारको कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो,‘सुनकाण्डमा प्रधानमन्त्रीको सचिवालय नै मुछिएको भन्ने आएको छ । तपाईँ धेरै बुझ्ने मान्छे हो कति बुझ्नुभएको छ ? गिरीबन्धु टी स्टेटमा तपाईं के गर्दै हुनुहुन्छ ? क्यान्टोनमेन्ट के हो यसमा पनि जनताको अगाडि ल्याउनुपर्छ । ललिता निवास, वाइडबडी, यती, ओम्नी काण्डको अनुसन्धान कसरी गर्नुहुन्छ ? जनताले हेरिरहेका छन् । हिजो पटक–पटक हामी त्यस्तै छोड्दैनौं भन्नुभएको छ । समाएर छोड्दैनौ भनेको हो कि समाएर छोड्छौ भन्नुभएको हो ? राज्यको पनि करुणा हुन्छ भन्नुभएको छ ।’

थानीले प्रश्नमाथि प्रतिप्रश्न गर्दै सोध्नुभयो,‘गृहमन्त्रीज्यू तजविजीले चलाउनुभयो भने मुलुक कहाँ पुग्छ ? सबै करुणामा जानुभयो भने मुलुक कहाँ पुग्ला ? २०७९ पुष ११ गते गृहमन्त्री भएपछि निर्मला पन्तको छानविन गर्ने भन्नुभएको थियो । तपाईंले पहिले गरेको निर्णयको काम कसरी गर्नुहुन्छ ? राज्य व्यवस्था हुँदा धेरै कुरा उठाउनुभएको छ ती कसरी कार्यान्वयन गर्नुहुन्छ ? जो कुरा समितिबाट बोल्नुभएको थियो त्यसको अक्षरसा पालना गर्नुहोला । गडबड भयो भने जसरी तपाईं समितिमा पड्किनुहुन्थ्यो त्यसरी नै हाम्रो पनि पड्किने पालो आउँछ ।’