जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १६:२६

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त


काठमाडौं, १५ चैत । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुभएको छ ।

उहाँ विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहनुभएको छ । यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुँदैछ ।

बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।