जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १७:१३

एक वर्षमै प्रहरीले उठायो ६ अर्ब ६३ करोड राजश्व


काठमाडौं, १५ चैत । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा साढे ६ अर्बभन्दा बढी अर्ब राजश्व संकलन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले आज प्रहरी हेडक्वाटरमा पत्रकार सम्मेलन गर्दै ‍पछिल्लो एक वर्ष (२०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेसम्म) मा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

उहाँले यो एक वर्षमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार १७८ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै अवैध मालसमानबाट २ अर्ब ७ करोड ५१ लाख ६ हजार ९८२ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै, दोस्रोमा अदालति फैसला कार्यान्यनबाट १ अर्ब ९७ करोड ९६ लाख १६ हजार ५३८ रुपैयाँ राजश्व संकलन भएको छ भने ट्राफिक कारबाहीबाट १ अर्ब ८६ करोड ५२ लाख २६ हजार ३५४ रुपैयाँ राजश्व संकलन भएको छ ।

उहाँका अनुसार अवैध सुनबाट ४३ करोड ३५ लाख ३ हजार ८४७, अवैध चाँदीबाट २ करोड १३ लाख ८ हजार ६२५ अवैध मुद्राबाट ६ करोड ७८ लाख ६८ हजार २८४ हुण्डी कारोबारबाट ४३ लाख ६५ हजार ५०० अवैध वैदेशिक मुद्राबाट ७ करोड २५ लाख ८३ हजार ६२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, अवैध काठबाट ७ करेड ९१ लाख १७ हजार ९३७ र अवैध नदीजन्य पदार्थबाट ३ करेड ५२ लाख ३५ हजार ४७ रुपैयाँ राजश्व संकलन भएको छ ।