जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १४:१९

पशुपति क्षेत्रमा गाडी चल्न नदिन र एक बर्षभित्रै शव गाड्ने वैकल्पिक ठाउँ खोज्न सर्वाेच्चको आदेश


काठमाडौं, चैत १६ । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन आदेश दिएको छ । सर्वाेच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

गत ७ माघमा गरेको संयुक्त इलजासको फैसलाको पूर्णपाठ बिहीबार मात्र सार्वजनिक भएको छ । फैसलामा पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको कारण देखाउँदै पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि सरकारको नाममा आदेश दिइएको छ ।

अदालतले खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न पनि आदेश दिएको छ । ‘वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्नेगरी तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटो लगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी साधन सञ्चालन हुन सक्ने गरी बाटो निर्माण नगर्न,’ आदेशमा भनिएको छ ।

पशुपति क्षेत्रमा रहेको श्लेषमान्तक वनको केही भागमा व्यक्तिहरुले शव गाड्ने परम्परा रहेको छ । सर्वोच्च अदालतले एक वर्षभित्र शव गाड्ने वैकल्पिक स्थानको पहिचान गर्न समेत आदेश दिएको छ । अदालतले एक वर्षपछि श्लेषमान्तक वनमा शव गाड्न र फाल्न नपाउने व्यवस्था गर्न आदेश दिएको हो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘लास गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी एक बर्ष पछिदेखि श्लेषमान्तक वनक्षेत्रमा लास गाड्न, फाल्न नपाउने व्यवस्था मिलाउनू । पाशुपत क्षेत्रभित्र कुनैपनि प्रकारको फोहोरमैला जम्मा हुन नदिई तत्काल सफाइ गर्ने भरपर्दो व्यवस्था मिलाउनू ।’

पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन लगायतका स्थानमा खाली रहेको, वन नासिए मासिएको स्थानमा सघन रुपमा वृक्षरोपण गरी हरियाली कायम राख्नू, उल्लिखित क्षेत्रमा रहेका रुख विरुवा काट्न, मास्न नदिनू, वनक्षेत्रको पूर्ण संरक्षण गर्र्नू, गराउनू

पशुपति क्षेत्रमा पुरातात्विक महत्वका सम्पदा, वन बुट्यान, जीवजन्तु, चराचुरुङ्गीको बासस्थान रहेको र तिनको संरक्षण गर्नुपर्ने भन्दै सर्वोच्चले वनकाली, मृगस्थली, श्लेषमान्तक लगायतका वनक्षेत्रमा सर्वसाधारणको प्रवेशलाई समेत रोक लगाउन अदालतले आदेश दिएको छ । ती क्षेत्रमा भक्तालु र पर्यटकको आवतजावतका लागि पैदल हिँड्ने बाटो बनाउन आदेश दिदै सर्वोच्च अदालतले सर्वसाधारणलाई वन बाटिकामा प्रवेश गर्न नदिन पनि आदेश दिएको छ ।

‘पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन लगायतका स्थानमा खाली रहेको, वन नासिए मासिएको स्थानमा सघन रुपमा वृक्षरोपण गरी हरियाली कायम राख्नू, उल्लिखित क्षेत्रमा रहेका रुख विरुवा काट्न, मास्न नदिनू, वनक्षेत्रको पूर्ण संरक्षण गर्र्नू, गराउनू,’ फैसलाको पूर्णपाठमा भनिएको छ । अदालतले पशुपति क्षेत्रमा कुनैपनि भौतिक निर्माणका काम गर्दा पुरातत्व विभागको लिखित परामर्श लिन समेत निर्देशन दिएको छ । यसैगरी आदेशमा पशुपतिनाथ मन्दिरको सम्पत्ति संरक्षण गर्न निर्देशन दिएको छ ।

विभिन्न नाममा पशुपति क्षेत्रको अतिक्रमण भएको र त्यसले विश्वसम्पदा क्षेत्रमा सूचिकृत पशुपतिनाथको अस्तित्व नै संकटमा पारेको भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो । सो रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले गत २०८० माघ ७ गते निर्देशनात्मक आदेश जारी हुने ठहर गरेको थियो । २०६७ सालमा पनि सर्वोच्चले पशुपतिनाथ मन्दिर संरक्षणका नाममा आदेश जारी गरेको थियो ।