जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १४:४१

विश्वमा शान्ति र दिगो भविष्य निर्माण गर्न चीनको जिडिआइ शक्तिशाली माध्यम बन्नसक्छ : बिष्णु पौडेल


चीन, चैत १६ । नेकपा एमालेका का उपाध्यक्ष विष्णु पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) बाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने निश्कर्ष सुनाउनु भएको छ । चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बिएफए) लाई बिहीबार नेपालका तर्फबाट सम्बोधन गर्दै पौडेलले यस्तो नश्कर्ष सुनाउनु भएको हो ।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले जिडिआइका लाागि चिनियाँ नेतृत्वको खुलेर प्रशंसा पनि गर्नुभयो । पौडेलका सचिवालयले जनाएअनुसार सम्बोधनको क्रममा उहाँले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ) अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताउनु भयो ।

उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो संख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी दिनुभएको छ ।

जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो । ‘एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन,’ पौडेलले भन्नुभयो ।

उहाँले नेपालले जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्ने आफ्नो बिश्वास रहेको बताउनु भयो । ‘चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ । पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौँ,’ पौडेलले भन्नुभयो, ‘हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्नेगरी परियोजनाहरू अघि बढाउन तत्पर छौँ।’

जिडिआइको दिगो र समतामूलक विकासका लक्ष हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरु स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै पौडेलले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तालाई भने दूर गर्न जरुरी रहेको बताउनु भयो ।

त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उहाँको भनाई थियो । उपाध्यक्ष पौडेलले नेपालले बहुपक्षीयतालाई महत्व दिने र जिडिआई ढाँचा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको जानकारीसमेत गराउनु भएको छ ।

‘हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रबर्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौँ । विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जिडिआइ एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त रहेको छ,’ पौडेलले भन्नुभयो ।

उहाँले बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्वपूर्ण अवसर दिएको भनाईसमेत राख्नुभयो । यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उहाँको भनाई थियो ।