जनता टाइम्स

१७ चैत्र २०८०, शनिबार १२:१३

बागमती प्रदेशसभा बैठक चैत १९ मा, मुख्यमन्त्रीले विश्वासको मत लिने


हेटौंडा, १७ चैत । बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताउनुभयो । प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गर्नुभएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ । ११० सदस्य रहेको बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् । यसैगरी प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।