जनता टाइम्स

१७ चैत्र २०८०, शनिबार १८:४८

केपी ओलीले सुनाए चुनाव हारजीतको तीतो सत्य


काठमाडौं, चैत १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा सूर्यध्वजाबहाक उम्मेदवारलाई बिजयी बनाउन अपिल गर्नुभएको छ ।

बैशाख १५ मा इलाम क्षेत्र नम्बर–२ र बझाङ प्रदेश सभा–१ मा उपनिर्वाचन हुँदैछ । सो उपनिर्वाचनमा एमाले उम्मेदवारलाई बिजयी बनाउन अध्यक्ष ओलीले अपिल गर्नुभएको हो । नेकपा एमालेको बझाङ प्रदेश सभा क्षेत्र नम्बर–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दुवै ठाउँमा जनताको माया पाएर एमालेले जित्ने बिश्वास पनि ब्यक्त गर्नुभयो ।

गत चुनावमा सबै दल मिल्दा पनि इलाममा एमालेले जितेको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ’हामी इलाममा अत्यधिक बहुमतले जित्नेछौं, इलाम–२ मा हिजो सबै मिल्दा पनि हामीले जितेका थियौं, कांग्रेसको उम्मेदवार हामीसँग करिबकरिब सिगौरी खेल्ने स्थितिमा पुगेको थियो, माओवादीको घास र अर्काको कुडो सबै खाएर निक्कै तागतिलो देखिएको थियो, त्यतिबेला हामीले हराइदिएका थियौं, अहिले घाँस कुँडो केही हुनेवाला छैन, त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिष्पर्धी छैन । हामी जित्छौं ।’

उहाँले बझाङमा केही प्राविधिक कारणले हारेको भन्दै यसपल्ट जित्ने बिश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष ओलीले अन्तिममा पुग्दासम्म माओवादीले समर्थन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

’हामी केही प्राविधिक कारणले हारेका थियौं । समाजवादी र माओवादीका भोटले त्यहाँ कांग्रेसले जितेको थियो, आफ्नै बल र तागतमा होइन, यसपटक हामी हार्दैनौं, जित्छौं,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यसपल्ट हामीले हार्नै मिल्दैन, हामीले १३ हजार ६ सय ल्यायौं, उनीहरुले १६ हजार ३ सय ल्याए, ४ हजार माओवादीको घटाउँदा १२ हजारमा आयो, समाजवादीको २ हजार घटाउँदा १० हजारमा आयो, मलाई विश्वास छ अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ ।’

उहाँले १३ हजारबाट १६ हजारमा पुग्ने कुरा गणितले देखाउने भन्दै माओवादी र समाजवादीले साथ दिए बझाङमा त्यसबाट माथि जाने बताउनु भयो । आफूसँग चुनाव लडेको एक जना स्वतन्त्र उम्मेदवारको अघिपछि सधैं ७–८ सय मानिस हुने, ठोस र तरलको व्यवस्था समेत उनले गरेको तर चुनावमा भोट गन्दा २ सय मात्र आएको स्मरण गर्दै उहाँले लहडको भरमा चुनाव नजिते तथ्य राख्नुभयो ।

यसपटक चुनावमा धाँदली नहुने भन्दै अध्यक्ष ओलीले एमाले चुनाव हार्न स्वीकार हुने तर धाँदली स्वीकार नहुने प्रष्ट पार्नुभयो । ’एमाले सानदार ढंगले जित्छ सबैले सुन्नेगरी भन्छु, यसपल्ट धाँदली साँदली हुँदैन, कतै बुथ कब्जा हुन सक्दैन, एउटा बुथमा २ सय युवाका दरले शान्तिपूर्ण र बेठिक हुन नदिनेगरी खट्नुस, एमाले छँदाछँदै कब्जा गर्न दिँदैन, हामीलाई हार्न मञ्जुर हुन्छ तर बुथ कब्जा मञ्जुर हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले चुनावलाई खर्चालु नबनाउन पनि आग्रह गर्नुभयो । युवा परिचालन बोत्तलले नभएर विचार, उद्देश्य, निष्ठा र कर्तव्यले हुने भन्दै उहाँले सोहीअनुसार परिचालन हुन निर्देशन समेत दिनुभयो ।अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आफू पनि खाना खाएर जाने र पार्टीका नेताले पनि घरबाटै खाना खाएर जाने गरेको स्मरण गर्दै पार्टीका लागि सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

गत चुनावमा पार्टीकै हस्ती भनिएका अनेक नेताहरु पार्टीबाट अलग भएर पार्टी फुटाएका र एमाले त शून्य सिटमा झर्छ समेत भनेका स्मरण गर्दै अध्यक्ष ओलीले अव एमालेमाथिको घेरावन्दी तोकिसकिएको प्रष्ट पार्नुभयो ।