जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार १४:०५

एमाले बाराको अध्यक्षमा चार जनाको दावी


बारा, १८ चैत । नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ । अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन् । एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन्। अध्यक्ष पदका आकाक्षीहरुले अधिवेशनका प्रतिनिधिहरुसंग भेटघाट र मत माग्न सुरु गरिसकेका छन् । यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ ।

अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिब भएका अध्यानन्द पाण्डे, एम समिउल्लाह र नेकपा एमाले बाराको बर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन् । अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हो । उहाँ नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हो । जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तिन पटक सचिब भईसकेका छन् भने पाण्डे जिल्ला कमिटी उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।

उहाँ बाराबाट एमाले महाधिवेशन प्रतिनिधिसमेत हो भने उहाँ बलबिर चौधरी निकट भएको बताइएको छ । जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित हुनुभएको थियो । उहाँ बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनौट हुनुभएको थियो । एमाले बाराको २०७८ सालमा भएको अधिवेशनबाट टिना सुबेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । सुबेदी प्रतिनिधि सभाका सभासद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको श्रीमति हो ।

यसअघि सर्वसम्मतबाट नै जिल्ला नेतृत्व चयन गरिने बताएतापनि यसपटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ । नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका कारण बारामा शक्तीको लडाई हुने देखिन्छ । नेकपा एमालेका तिन पोलिटब्युरो सदस्य रहेको बारामा आफुनिकटका व्यक्तिहरूलाई अध्यक्षमा निर्वाचित गर्न ध्याउन्न छन् । यसअघि नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीसहित सर्वसम्मत रुपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो ।