जनता टाइम्स

१९ चैत्र २०८०, सोमबार १७:३३

चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर सार्वजनिक


काठमाडौं, १९ चैत । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको छ । चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ ।

पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि चलचित्रको थिम बताउँछ । अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने चलचित्रकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपाली चलचित्र उद्योगमा एक प्रकारको जोससहित चलचित्रबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरूको वकालत गर्ने मेरो उद्देश्य छ ।’

केही दिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने र लक्षित दर्शकहरूलाई विशेष प्रिमियर शोको आयोजना गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाउनुभयो । यस चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ । यो चलचित्र निर्माणको काम आश्वि फिल्मसले गरेको हो ।