जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार १६:४९

भ्रष्टचार गरेको प्रमाणित गर्न पत्रकारलाई सञ्चारमन्त्री बाँस्कोटाको चुनौति


काठमाडौं, असोज ९

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भ्रष्टचार गरेको प्रमाणित गर्न चुनौति दिनु भएको छ । केही सञ्चारमाध्यमले भष्टचार गरेको दावी गर्दै समाचार लेखेपछि उहाले भ्रष्टाचार गरेको प्रमाणित गर्न पत्रकारलाई चुनौती दिनु भएको हो ।

बिहीबार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो चुनौती दिनु भएको हो । ‘१२ अर्ब होइन, १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए सम्पूर्ण कारवाही भोग्न तयार छु’, पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यस्तो अफवाहाको पछाडि लाग्नु आवश्यक छैन । यो विषयमा अख्तियार, सीआईबी, नेपाल सरकारले आफैं छानबिन गर्नसक्छ ।’

उहाले आफूले भ्रष्टाचार गरेको विषयमा छानबिन गर्न बाहिरी शक्ति ल्याउन पनि चुनौती दिनुभयो । ‘यहाँबाट चल्दैन भने कोको ल्याउन सक्नुहुन्छ ? ल्याएर छानबिन गरे हुन्छ, म यस्ता गलत तरिकाका विषयमा विश्वास गर्दिँन’, उहाले भन्नुभयो, ‘म हच्किनुपर्ने कुनै कारण छैन। केही छ भने ल्याउनुहोस्, म जवाफ दिनसक्छु।’