जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार २०:२०

‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक, अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा


काठमाडौं, २० चैत । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ । आज सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ ।

साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्शाइएको छ । एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको चलचित्रकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताउनुभयो ।

अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास अनिताको छ । केही दिनपछि केही लक्षित दर्शकहरूको लागि विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै उहाँले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाउनुभयो । यस चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।