जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार ०८:३०

भावी सेनापति बन्ने रोलक्रममा प्रभुराम शर्मा


काठमाडौं, असोज १०

नेपाली सेनाको भावी सेनापतिको रोलक्रममा प्रभुराम शर्मा आएका छन् । सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना १५ दिन म्याद थप गर्ने निर्णय गरेपछि शर्मा सेनापति बन्ने निश्चित जस्तो देखिएको हो ।

उपरथी शर्मालाई कुनै बाधा अड्चन नआएको खण्डमा प्रधानसेनापति बन्ने बाटो खुलेको छ। युद्धकार्य महानिर्देशक समेत रहनु भएका शर्माको पदावधी थप भएपछि भावी सेनापतिको रोलक्रमबारेको अन्योल पनि सकिएको छ।
भावी सेनापति रोलक्रमलाई लिएर अन्योल र चलखेल नहोस् भनेर प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिले नै शर्माको बाटोलाई सुरक्षित गरिदिनु भएको हो ।

शर्माको उपरथीको तीन वर्षे नियमित पदावधी आगामी कात्तिकमा समाप्त हुँदैछ । सेनापतिको सिफारिसबमोजिम मन्त्रिपरिषदले म्याद थपको निर्णय गरेको हो । बलाध्यक्षरथी गौरव तण्डुलले आउदो वैशाख १९ मा अवकास पाएपछि शर्मा रथीमा बढुवा हुनुहुनेछ । अर्का रथी शरद गिरीले समेत आउदो असार ६ गते अनिवार्य अवकास पाउनुहुनेछ । गिरी र तण्डुलको अवकासपछि शर्मा सेनापतिको स्वभाविक रोलक्रममा बस्नुहुनेछ ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उहाको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्‍नेछन्। भारतबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गर्नुभएका शर्मा सेनाभित्रका व्यवसायिक अधिकृत मानिनुहुन्छ ।