जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार १५:१५

एमालेमा अरु २० कसैले आस नगर्दा हुन्छ : केपी ओली (भिडियोसहित)


पोखरा, चैत २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अवको २० वर्ष अरू कसैले आस नगरे हुने घोषणा गर्नुभएको छ ।

पार्टीभित्र सहमतिभन्दा असहमति निर्माणमा जोड दिने गरेको पाइएको तथ्इ औंल्याउँदै अध्यक्ष ओलीले आव आफू झनै स्वस्थ भएकोले २० बर्षजति कसैले पनि आस नगर्न भन्नुभएको हो ।

पोखरामा आज आयोजित नेकपा एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताउनु भयो ।

‘केपी ओली नभएको भए अथवा केपी ओली नहुँदा यसो गर्छु, उसो गर्छु भन्ने लागेको होला । त्यो कोशिष पनि भयो । कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन । अहिले मेरो कलाप पलाउन थालेको छ । मेरो सबै कपाल झरेको थियो । अहिले पलाउन थालेको छ । रोपेको होइन आफै पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले आफ्नै नेतृत्वमा एमालेले मुलुकमा समृद्धिको सपना पूरा गर्ने अठोट पनि गर्नुभयो । अध्यक्ष ओलीले एमाले र देशलाई ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने धारणा पनि राख्नुभयो ।

‘नेकपा एमाले र यस देशलाई ठिक बाटोमा बढाएर, यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ । अहिले हामीलाई समय छैन । हामी व्यस्त छौँ,’ अध्यक्ष ओलीले भन्नुभयो । कार्यक्रममा उहाँले पार्टीभित्र अहिले खराव प्रबृत्ति हावी हुन थालेको भन्दै एमाले नेता कार्यकर्ताहरुको आचरण र ब्यवहारमा सुधार जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले सम्बोधनको क्रममा एमाले नेता–कार्यकर्ताहरु पनि दिउसो र साँझको हिडाइमा आकास पातल फरक हुने गरेको सारिरीक हाउभाउ प्रस्तुत गर्दै सुध्रन निर्देशन दिनुभयो । ‘दिउसो जाँदा ठीकै जान्छ, बुलुका हात दुईतिर फाल्दै (सारिरीक हाउभाउ प्रदर्शन गर्दै) हिडने शैली ठीक होइन, त्यस्तो शैली एमालेका सवैले त्याग्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।