जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार २०:०८

छिमेकी जिल्ला लमजुङमा राष्ट्रपति पौडेलको अर्कै रुप, बोल्दाबोल्दै गुनगुनाए माधव घिमिरेको चर्चित गीत


लमजुङ, चैत २३ । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला लमजुङ आइपुग्दा निकै रोमाञ्चक बन्नुभएको छ । तनहुँका स्थायी बासिन्दा राष्ट्रपति पौडेल आज छिमेकी जिल्ला लमजुङमा आइपुग्दा रोमाञ्चकारी बनेसँगै गीतसमेत गुनगुनाउनु भएको छ । लमजुङ सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरु भएको आठौं लमजुङ महोत्सव र लमजुङ भ्रमण वर्ष २०८१ को शुक्रवार उदघाटन गर्ने क्रममा राष्ट्रपति पौडेलले गीत गुनगुनाउनु भयो ।

‘यहाँको जस्तो जमिन रसिलो छ, मान्छे रसिला र पाखा पखेरा हँसिला छन । आफैं हुर्के बढेको, संघर्ष र आन्दोलनका उकाली ओराली पनि गरेको,’ आफ्नो छिमेकी जिल्ला लमजुङ आफ्नो कर्मथलो समेत भएको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यही सुन्दर प्रकृति, संस्कृति र पाखापखेरा देखेपछि मलाई भन्न मन लाग्छ, माधव घिमिरेको स्वरमा लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो । हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो ।’

राष्ट्रपति पौडेलले गीतकै शैलीमा यी शब्दहरु गुनगुनाउँदा उपस्थित सवैले ताली र सुसेली हालेर स्वागत गर्दै समर्थन गरे । सम्बोधनको क्रममा राष्ट्रपति पौडेलले सुदृढ गणतन्त्र, सवल अर्थतन्त्र, सम्मुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना भएको धारणा राख्नुभयो । राजनीतिक दल, सरकार र नीति निर्माताहरूले यसलाई भुल्न नहुने उहाँको भनाइ छ । उहाँले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता अर्थतन्त्रलाई चलायमान, गतिशील र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पूरा गर्नु रहेको भन्दै त्यसतर्फ लाग्न सवैलाई सुझाव दिनुभयो ।

‘मुलुकमा उत्पादन, रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ अब हामीले विशेष ध्यान दिनुपर्छ । त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अनिवार्य छ,’ उहाँले भन्नुभयो, ‘कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औद्योगिकरणको मार्ग प्रशस्त गर्न सक्दछौं । जुन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो ।’ निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला, संस्कृति, सम्पदा र रैथाने उत्पादनलाई पर्यटनसंग आवद्ध गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

‘यहाँको उत्पादन, उत्पादकत्व र यस क्षेत्रको आर्थिक उन्नतिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने आवश्यकता छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले जलविद्युतका धेरै आयोजनाहरू यस क्षेत्रमा निर्माण भइरहेकाले भविष्यमा ऊर्जाको आपूर्ति सहज हुने हुँदा यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण समयमै सिर्जना गर्नु उपयुक्त हुने धारणा समेत राख्नुभयो ।देशका विभिन्न भागमा हुने महोत्सव तथा मेला पर्वहरूले उक्त क्षेत्रका धर्म, कला, सस्कृंति, परम्परा संरक्षण साथै सम्वर्धन तथा त्यस क्षेत्रको पर्यटन, व्यवसाय तथा उत्पादनको प्रवर्धन, औद्योगिक, पूर्वाधार परियोजनाका लागि लगानीमैत्री वातावरणसमेत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास पनि उहाँले ब्यक्त गर्नुभयो ।

‘भौगोलिक रूपमा नेपालकै मध्यभागमा रहेको लमजुङ अनुपम प्राकृतिक सौन्दर्य, आस्थाका धरोहरका रूपमा धार्मिक सम्पदाहरू, गौरवपूर्ण ऐतिहासिक गाथा, लोकतान्त्रिक राजनीतिक आन्दोलनको उर्वर भूमि, साहित्य तथा साँस्कृतिक पक्षका दृष्टिले पनि आकर्षणको केन्द्रमा रहेको छ,’ राष्ट्रपतिको भनाई थियो ।

उहाँले २००७ सालको परिवर्तनको पूर्वसन्ध्यामा जातीय भेदभाव, छुवाछुतविरुद्ध सामाजिक आन्दोलनको चम्किलो जागरण बनेको हलोक्रान्ति लमजुङबाटै भूमिबाट उब्जिएको प्रसंग उल्लेख गर्दै राजनीतिक चेतनाका लागि ब्राम्हणहरूले चलाएको सामाजिक जागरणको अभियानले राणा शासनको जग नै हल्लाइदिएको र यहीँ (लमजुङ) बाट प्रजातन्त्रको उज्यालो प्रकाश पहाडी कन्दरामा फैलिएको बताउनु भयो ।

राष्ट्रपति पौडेलले आन्तरिक पर्यटनको केन्द्र बनेको घलेगाउँ, काउलेपानी, भुजुङसहितका गाउँ तथा होमस्टेमात्रै नभएर गाउँसहर, बेंसीसहर, राइनासटार, भोर्लेटार हुँदै चितीदेखि चसंकूसम्म, घनपोखरादेखि डाँडाकुन्छासम्म र विचौरदेखि रिस्ति रम्घासम्मका पुराना नामी गाउँहरूले लमजुङको मनोरम ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको धारणासमेत राख्नुभयो ।