काठमाडौं, चैत २५ । अव बैदेशिक रोजगारमा जाने नेपाली कामदारले एक घण्टाभित्रै श्रम स्वीकृती पाउने भएका छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अव एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने जानकारी दिनुभएको हो ।
वैदेशिक रोजगार बिभागको कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै प्रदान गरिने बताउनु भयो ।
मन्त्री अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एकघण्टा भित्र सबैखाले श्रम स्वीकृति दिन सम्भव भएको जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले दिनुभएको जानकारीअनुसार बैदेशिक रोजगार विभागमा हुने काम कारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरी नितिगत सुधार गरिएको छ ।
एकजना श्रमिकले सबै कागजात पूरा बुझाएको अवस्थामा अव दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरी काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टाभित्र नै स्वीकृति प्रदान गरिने मन्त्री अयौलले बताउनु भयो ।
‘अब सवै कागजात अपलोड गरेको एक घण्टामा मोबाईलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने ब्यवस्था मिलाएका छौं,’ श्रममन्त्री अर्यालले भन्नुभयो । परीक्षणबाट संभव छ भन्ने प्रमाणित भएसँगै आजबाट वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको अन्त्य भएको मन्त्री अर्यालले ताउनु भयो ।
वैदेशिक रोजगारमा रहेको बीमा, स्वास्थ्य, अभिमुखीकरणलगायत अन्य कुनै विषयमा सिण्डिकेट लाग्न नदिने पनि उहाँको भनाई छ ।
मन्त्री अर्यालले आफूले मन्त्रालयको नेतृत्वलिएलगत्तै बिभागको निरीक्षण गरी श्रम स्वीकृतसहित बिभागबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गर्न निर्देशन दिनुभएको थियो ।
कर्मचारीले आवश्यक श्रोत साधनको अभाव र प्रविधिको कमी औल्याउँदै संभव नहुने बताएपछि नयाँ सफ्टवेयरमार्फत एक घण्टाभित्र सवै काम गर्न सकिने ब्यवस्था मिलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्