जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार २०:५५

केपी ओलीको काम सही थियो, हामीलेचाँहि जानाजान गलत काम गर्यौं : चन्द्र भण्डारी


बुटवल, चैत २५ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले आफ्नै दलले अफवाह फैलाए पनि तात्कालिन प्रधानमन्त्री केपी ओलीले सही काम नै गर्नुभएको निश्कर्ष सुनाउनु भएको छ ।

प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कांग्रेस नेता भण्डारीले पार्टीको काम गलत र केपी ओलीको काम सही भएको तथ्यसहितको निश्कर्ष सुनाउनु भएको हो ।

नेता भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको लहलहैमा लागेर ओलीको सही कामलाई साथ दिनुको साटो कांग्रेस नेतृत्व पनि गलत बाटो समात्न पुगेको कारण अहिलेको अवस्था झेल्नुपरेको बताउनु भयो । भण्डारीले आफ्नो धारणा राख्नेक्रममा प्रतिनिधिसभा बिघटन गर्ने तात्कालिन प्रधानमन्त्री केपी ओलीको निर्णय सही रहेको तर आफ्नै दलले प्रचण्ड र माधवको लहलहैमा लागेर प्रतिगमन भनेको बताउनु भयो ।

ओलीको सो निर्णयको बिरुद्धमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु सर्वाेच्च अदालतमै हस्ताक्षर गर्न पुग्नुभएको थियो । संसद बिघटनबिरुद्ध घेरावन्दी गरेर सर्वाेच्च अदालतको समेत दुरुपयोग गरी केपी ओलीलाई सत्ताबाट हटाइए पनि सो काम भएको २७ महिनापछि भएपनि कांग्रेस नेता भण्डारीले उहाँको काम सही भएको निश्कर्ष सुनाउनु भएको हो ।

‘प्रतिनिधि सभा विगठन प्रतिगमन होइन, जनतामा जाने निर्णयलाई प्रतिगमन भन्नुचाँहि प्रतिगामी काम हो,’ कांग्रेसबाट बिगतमा गल्ती भएको स्वीकार गर्दै नेता भण्डारीले भन्नुभयो । भण्डारीले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर कांग्रेस अरुको पछि लाग्नु नै दुर्भाग्यपूर्ण बनेको बताउनु भयो ।

‘सरकारलाई सांसदले नै काम गर्न दिएनन भनेर चुनावमा जाने कुरा प्रतिगमन थिएन । होइन । केपी ओलीले तीन वर्षमा प्रतिनिधि सभा विघटन गरिदिएर कांग्रेसका लागि चुनाव लड्ने राम्रो अवसर सिर्जना गरिदिएको थिए तर कांग्रेसले त्यसको उपयोग गर्न सकेन,’ भण्डारीले भन्नुभयो । सधै ढाँटछलमा माहिर प्रचण्ड र माधव नेपालको पछि लाग्दा कांग्रेसले धोका खाएको उहाँको निश्कर्ष छ ।

‘कहाँ प्रचण्डजी, कहाँ माधव नेपालजीको पछि लागेर, प्रतिगमन–प्रतिगमन भन्दै हिँड्यौँ हामी । चुनावमा जाने कुरा पनि काहीँ प्रतिगमन हुन्छ ?,’ भण्डारीले थप्नुभयो, ‘त्यहीँनेर हामीले गल्ती गर्यौँ, चुनामा गएको भए आज दुई दल हुन्थे, एमाले र कांग्रेस हुन्थ्यो, देशले निकास पाउँथ्यो नि ।’

सरकारलाई सांसदले नै काम गर्न दिएनन भनेर चुनावमा जाने कुरा प्रतिगमन थिएन । होइन । केपी ओलीले तीन वर्षमा प्रतिनिधि सभा विघटन गरिदिएर कांग्रेसका लागि चुनाव लड्ने राम्रो अवसर सिर्जना गरिदिएको थिए तर कांग्रेसले त्यसको उपयोग गर्न सकेन

कांग्रेसले आफ्नो स्ट्याण्ड नलिँदा आजको अवस्था आएको उहाँले बताउनुभयो । यसको कांग्रेसले समीक्षा गर्नुपर्ने समेत भण्डारीले बताउनु भयो । उहाँले देशको अवस्था अहिले कसैको पनि विश्लेषण भन्दा बाहिर रहेको बताउनुभयो । उहाँले अहिले सबैले मिलेर देश अघि बढाउनु पर्नेमा त्यस्तो नभएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । युवा लगायत विदेश जाँदा पनि ठुला भनिएका नेताहरूलाई लाज नभएको भन्दै भण्डारीले कडा आलोचना गर्नुभयो ।

उहाँले अरूलाई आरोप लगाएर उम्कने स्थिति अहिले नभएको बताउनुभयो । यस्तै उहाँले कांग्रेस भित्रको गुटले मुलुक र कांग्रेलाई हित नगरेको तर भइरहेको बताउनु भयो । उहाँले अहिलेको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत नआउने भन्दै सुधार गर्नुपर्ने बताउनु भयो । अहिलेको निर्वाचन प्रणालीमा गठबन्धनमा नगई सुखै नभएको भण्डारीले निश्कर्ष छ ।

भण्डारीले स्थानीय तहलाई चलाउनु नहुने तर प्रदेश र केन्द्रको पुनः संरचना गर्नुपर्ने बताउनुभयो । ‘केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन, तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ ?’ उहाँले भन्नुभयो । उहाँले अबको पार्टी सभापति र संसदीय दलको नेता आफू हुने उदघोषसमेत गर्नुभयो । ‘कतिलाई बोकेर हिँड्नु ? अव आफै हुन्छु,’ भण्डारीले भन्नुभयो ।