जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १९:००

कोशी प्रदेश सभाको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस


विराटनगर, २६ चैत । कोशी प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरिएको छ । आज कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो । सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रकृयामा गएकै बेला मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको हो ।

कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको कार्की प्रदेश सभामा अल्पमतमा पुग्नुभएको छ । उहाँलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्रसमेत सरकारबाट बाहिरिएको छ । त्यस्तै एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।