जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार १९:४०

उपनिर्वाचनका लागि आयोगले ६ बुँदे निर्णय : संघ र प्रदेशका मन्त्रीदेखि पालिकाका पदाधिकारीसम्मलाई निर्वाचन क्षेत्रमा प्रवेश निषेध


काठमाडौं, चैत २७ । आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षासम्बन्धी ६ बुँदे निर्णय गरी कडाईंका साथ कार्यान्वयन गर्न ६ बुँदे निर्देशन दिएको छ । बैशाख १५ गते इलाम–२ र बझाङ–१ (क) मा उपचुनाव हुँदैछ ।

निर्वाचन आयोगको आज बसेको बैठकले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिशलाई समेत मध्यनजर गरी बिभिन्न निर्णय गरेको बिज्ञप्तिमार्फत जानकारी गराइएको छ ।  प्रतिनिधि सभाको इलाम– २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्रमा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

आज बसेको निर्वाचन आयोगको बैठकले बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि ६ बुँदे निर्णय गर्दै संघीय सरकार र प्रदेश सरकारका मन्त्रीदेखि पालिकाका पदाधिकारीसम्मलाई अनुमतिबिना निर्वाचन क्षेत्रमा प्रवेश निषेध गरेको छ ।

निर्वाचन आचार संहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्ने निर्णय आयोगले गरेको हो ।

सरकार र प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले आयोगको अनुमति नलिई निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचार प्रसारमा संलग्न भएमा जाँचबुझ गरी कारबाही अघि बढाउन निर्देशन दिने निर्णय आयोगले गरेको छ । यसैगरी वैशाख २ गतेदेखि १५ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।