जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार १५:४०

जापानमा राजदुतले नै मन्त्रीको अपमान गरेपछि..


टोकियो, असोज १० । जाईकाको औपचारिक निमन्त्रणामा जापान भ्रमणमा आउनु भएका उर्जामन्त्री वर्षमान पुन आफ्नै देशको राजदुतबाट अपमानित हुनुपरेको घटना बाहिर आएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पुनलाई जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले अपमान गर्नुभएको हो । राजदुत राणाले मन्त्री पुन जापान आउने कुनै औपचारिक जानकारी नभएको भन्दै विमानस्थलमा लिन र शिष्टचार भेटघाटसमेत नगरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

जापानी दुतावास स्रोतका अनुसार राजदुत राणाले मन्त्री पुनलाई जानाजान अपमान गर्दै रिसिभ गर्नसमेत नजाने निर्णय लिनुभएको थियो । ‘त्यस्ता मन्त्री कत्ति आउँछन, आउँछन, किन लिन जाने ? म जान्न,’ राजदुत राणाको भनाई उधृत गर्दै दुतावास स्रोतले जनताटाइम्ससँग भन्यो । राजदुतले अपमान गरेकै कारण दुतावासले आयोजना गरेको रात्रीभोज मन्त्री पुनले बहिष्कार गर्नुभएको छ । जापानका लागि नेपाली राजदुतावास टोकियोले विहिवार मन्त्री पुनको स्वागतसहित एक नेपाली रेष्टुरेण्टमा रात्रिकालिन भोज राखेपनि सो भोजमा मन्त्री पुन सहभागी नहुनुभएको हो ।

सोही समयमा मन्त्री पुनको जापानी एक टोलीसंगको भेटघाट भएकोले उपस्थित नभएको मन्त्रीको सचिवालय टोलीले जनाए पनि अपमानको जवाफ दिइएको हो ।भ्रमणको क्रममा मन्त्री पुनले जापानका संसदीय, विदेश उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँग नेपालमा जापानको सम्बन्ध र सहयोगका विषयमा छलफल गर्नुभएको थियो । मन्त्री पुनले नेपाल–जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसहितको ८ सदस्यीय संसदीय टोलीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

मन्त्री पुनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध जापानले नेपाललाई ऊर्जा, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिदैं यसलाई अझ प्रभावकारी बनाउन अपिल गर्नु भएको मन्त्रीका सचिवालय टिमका सुनिता गौतमले जानकारी दिनुभयो ।त्यस्तै मन्त्री पुनले भने ४ सय १७ मेगावाट नलसिंहगाड जलविद्युत, ऊर्जा, कृषि र पर्यटन नेपालमा सहयोगका लागि जापानी सहयोग र लगानी बढाउन आग्रह गर्नु भएको थियो । कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँगको भेटमा मन्त्री ताकु इतोले नेपालको सिँचाइ र कृषिको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग बढाउन तयार रहेको बताएका थिए ।

भेटका क्रममा मन्त्री पुनले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानी पर्यटकलाई भित्र्याउन पहल गरिदिन आग्रह गर्दै अब छिट्टै काठमाडौं–टोकियो उडानसमेत थाल्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । जापानी उच्च अधिकारीहरूसँगको भेटमा मन्त्री पुनसँग जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी हुनुहुन्थ्यो ।
मन्त्री पुन नेतृत्वको टोली जापानका ड्याम तथा हाइड्रोपावरको अवलोकन गर्नुका साथै जापानमा रहेका नेपालीसँग बृहत अन्तरक्रियासमेत गरेर आज नेपाल एयरलाईन्समार्फत स्वदेश फर्किनु भएको छ ।