जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार १३:३६

राष्ट्रिय वाणिज्य बैंकबाट सिइओ श्रेष्ठ सेवा निवृत्त, खनाललाई कामुको जिम्मेवारी


काठमाडौं, २९ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) हुनुभएको छ । उहाँ २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त हुनुभएको थियो । उहाँ २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको थियो ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्मेवारी तोकिएको छ । बैंक व्यवस्थापनको तर्फबाट एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रुपमा उभ्याउन श्रेष्ठले गरेको योगदानको बारेमा चर्चा गर्दै उहाँप्रति आभार व्यक्त गरिएको थियो ।

श्रेष्ठले ८ वर्षको अवधिमा आफुले पाएको साथ र सहयोग प्रति सम्पूर्ण सरोकारवाला प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।