जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार २२:०२

बिष्णु पौडेलले खुलासा गरे कांग्रेसको त्यो गम्भीर षडयन्त्र


बागलुङ, चैत २९ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागिसकेको खुलासा गर्नुभएको छ । नेकपा एमाले बागलुङको १०औं अधिवेशनको उदघाटन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पौडेलले यस्तो तथ्य खोल्नुभएको हो ।

उहाँले वर्तमान समीरकरण भत्काएर सरकारमा आउनका लागि कांग्रेसले ब्यक्तिको बिरुद्धमा लागेर संसदीय छानबिन समितिको माग अघि सारेको तथ्य पनि खोल्नुभयो ।

सरकार गिराउन कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न समिति बनाउनुपर्ने माग गरिरहेको पौडेलको निश्कर्ष छ । उहाँले सहकारी ठगीको विषयमा राज्यका निकायहरूले अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समिति आवश्यक नरहेको बटमलाइन पनि सुनाउनु भयो ।

राज्यका निकायहरूले सहकारी ठगिका विषयमा अनुसन्धान गरिरहेका छन । छानबिन नगर्ने भन्ने होइन तर सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठीक छैन । उसले सत्ता समीकरण बिगार्न मात्रै यो माग गरिरहेको छ

‘राज्यका निकायहरूले सहकारी ठगिका विषयमा अनुसन्धान गरिरहेका छन । छानबिन नगर्ने भन्ने होइन तर सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठीक छैन । उसले सत्ता समीकरण बिगार्न मात्रै यो माग गरिरहेको छ,’ पौडेलले भन्नुभयो । कांग्रेस संसदको समय दुरुपयोगको काममा मात्रै तल्लीन भएको पनि पौडेलको भनाइ थियो ।

उपाध्यक्ष पौडेलले कम्युनिष्ट फुटाएर राज गर्न खोज्ने कांग्रेसको पालो अब सकिएको बताउनु भयो । कम्युनिष्ट शक्तिबीच समीकरण बन्दा जनतामा आशा पलाएको भन्दै पौडेलले वर्तमान सरकार टिकाउन नदिन विभिन्न षड्यन्त्र भइरहेकोले सवै सचेत हुनुपर्ने बताउनु भयो ।

एमालेले वर्तमान सरकारलाई २०८४ को निर्वाचनसम्म लैजाने स्पष्ट मार्गचित्रसहित अघि बढेको पनि उहाँको भनाई छ । ‘एमाले बलियो नभएमा देश कमजोर हुन्छ । देशको विकास, समृद्धि र नागरिकको भविष्य राम्रो बनाउनका लागि एमाले शक्तिशाली हुनुपर्छ । त्यसका लागि सबै नेता–कार्यकर्ता एक जुट भएर लाग्नुपर्छ,’ उपाध्यक्ष पौडेलले भन्नुभयो ।

उदघाटन समारोहमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण बिष्टलगायतका नेताहरुले एकजुट बनेर मुलुकको समृद्धिको नेतृत्व गर्ने काममा एमालेका सवै नेता कार्यकर्ता लाग्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।