जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार १२:१५

कसरी ठ्याक्कै मिल्यो इश्वर र शेखरको कुरा ?


एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल र कांग्रेस नेता शेखर कोइरालाको कुरा ठ्याक्कै कसरी मिल्यो ? यो संयोग मात्रै हो कि भित्री कारण छन ? बर्तमान सत्ता गठबन्धनप्रति एमाले नेतृत्व पंङ्ती नै सन्तुष्ट छैन ? भन्ने यक्ष प्रश्न पनि खडा गरिदिएको छ ।

काठमाडौं, चैत ३० । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल बर्तमान सत्ता गठबन्धन फर्नुपर्ने नेपाली कांग्रेसकै नेताहरुको लाइनमा उभिन पुग्नुभएको छ ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले आफू सुरुदेखि नै नेपाली कांग्रेस र एमाले मिल्नुपर्ने मान्यतामा रहेको भन्दै आफ्नै पार्टी नेतृत्वको सत्ता गठबन्धन फर्नुपर्ने लाइनमा उभिनुभएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन छाडेर एमाले नेतृत्वको गठबन्धनमा सहभागी हुनुभएपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु उहाँसँग निकै बिच्किनुभएको छ ।

सभापति देउवाले त त्यो धोकेवाजसँग बदला लिन्छु-लिन्छु-लिन्छु भनेर कसम नै खानुभएको छ । देउवाले कसम खाएसँगै संस्थापनसँगै डा. शेखर कोइराला पक्षधर नेताहरु र दुई महामन्त्री बिश्वप्रकाश शर्मा र गगन थापा पनि गठबन्धन फर्ने अभियानमा लाग्नुभएको छ । यही बेला एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल पनि कांग्रेस एमालेकै गठबन्धन हुनु राम्रो भन्दै सार्वजनिक रुपमा मै अभिब्यक्ति दिएर मैदानमा उत्रनुभएको हो ।

बिहीवार कांग्रेस नेता शेखर र एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको ठ्याक्कै एउटै भनाई आएको छ । शेखरले दिउसो बोलेकै कुरालाई पोखरेलले बेलुका माओवादीकै पोलिटब्यूरो सदस्य सञ्चालक रहेको सञ्चार माध्यममा कांग्रेस र एमाले मिल्नु मुलुकको लागि हितकर रहेको भन्दै पार्टी नेतृत्वको हालको गठबन्धनप्रति झोंक फेर्नुभएको छ । बोली र लवज हेर्दा शेरख र पोखरेलको बोली ठ्याक्कै मिलेको देखिन्छ ।

कांग्रेसका नेता डा. शेखर कोइरालाले बिहीवार दिउसो दाङमा देश बचाउन कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने निश्कर्ष सुनाउनु भएको थियो । साँझ पोखरेलले पनि यस्तै निश्कर्षमा आफू रहेको बताउनु भयो ।

बर्तमान गठबन्धनको निर्माणकर्ता एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेलले बर्तमान गठबन्धन जोगाउनु एमालेले मुख्य दायित्व रहेको प्रष्ट पारिरहनुभएको अवस्थामा बरिष्ठ उपाध्यक्ष पोखरेलको फरक लाइन आएको हो । बरिष्ठ उपाध्यक्ष पोखरेलको निश्कर्ष छ, ‘एमाले र कांग्रेस मिल्नुमै देशको हित छ ।’

पोखरेलको यो भनाईले अहिलेको गठबन्धनले देशको अहित गरिरहेको छ भन्ने सिधा अर्थ दिन्छ । कांग्रेस नेता कोइरालाले देश अप्ठेरोमा परेकाले देशलाई निकास दिन दुई ठूला शक्ति कांग्रेस र एमाले एक भएर अगाडि बढ्नुपर्ने भनाई पनि राख्नुभएको छ । यस्तै पोखरेलले पनि यही मान्यता सही भन्नुभएको छ ।

‘म त सुरुदेखि नै एमाले कांग्रेसको गठबन्धन हुनुपर्न भन्ने मान्यतामा अडिग रहेको हो, त्यो प्रयाश अघि बढाएको पनि हो तर कांग्रेसको कारण संभव भएन,’ रातोपाटीमा पत्रकार रोहित दाहालसँगको संवादमा बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभएको छ ।