जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार १६:२४

फ्रान्सेली रसायन कारखानामा बिस्फोट


फ्रान्स, असोज १०

फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो । लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीबार बिहान २:३० बजे ठूलो आवाज सहितको विस्फोटन पश्चात आगलागी भएको थियो ।

यो कारखाना अमेरिकी खर्बपति व्यापारी वारेन बफेटको स्वामित्वमा रहेको छ । आगलागीका कारण कारखानामा कार्यरत कोही पनि कर्मचारी घाइते नभएको अग्निनियन्त्रकहरुले जनाएका छन् । कारखानाबाट निस्केको धुँवा झण्डै २२ किलोमिटर टाढासम्म फैलिएको थियो । अग्निनियन्त्रक विभागका प्रवक्ता क्रिस चिसलार्डले कारखानाको मुख्य आगो नियन्त्रणमा आए पनि अझै कारखाना वरपर नमिठो दुर्गन्ध फैलिइरहेको बताउनुभयो ।

आगो निभाउन २०० भन्दा बढी अग्निनियन्त्रकहरु खटाइएको थियो । यो कारखाना नगर क्षेत्रबाट नजिकै रहेकाले पनि त्यसको असर नगरबासीमा पर्ने चिन्ता व्यक्त गरिएको छ । लुब्रिजोल कम्पनीले आगलागीबाट उद्योगको गोदामघर, प्रशासनिक भवन समेत पूर्ण रुपमा जलेको जनाएको छ । आगलागीको कारण भने अझै खुलेको छैन । कम्पनीले नगरबासीलाई फलफूल वा तरकारीलाई राम्रोसँग पखालेर मात्र खान अनुरोध गरेको छ । फ्रान्सेली अभियोजनकर्ताहरुले कारखानाको आगलागीका बारेमा अनुसन्धान शुरु गरेका छन् ।