जनता टाइम्स

३० चैत्र २०८०, शुक्रबार २२:५९

पार्टी नेता-कार्यकर्ताकै बदमासीले चुनावमा सोचेजस्तो परिणाम नआएको एमाले महासचिवको ठोकुवा


ललितपुर, चैत ३० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेता कार्यकर्ताकै बदमासीका कारण गत निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम आउन नसकेको ठोकुवा गर्नुभएको छ ।

नेकपा एमाले ललितपुर जिल्ला कमिटीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले चुनावमा सोचेजस्तो मत नआउनुमा पार्टीकै नेता कार्यकर्ताको बदमासी रहेको ठोकुवा गर्नुभएको हो । पार्टीभित्रको आन्तरिक समस्याको कारण पनि एमालले कतिपय ठाउँमा सोचे जस्तो मत प्राप्त गर्न नसकेको भन्दै चुनावको डेढ बर्षपछि महासचिव पोखरेलले पार्टीका नेतादेखि कार्यकर्तासम्मको बदमासी उजागर गर्नुभएको हो ।

पार्टीभित्रको आन्तरिक समस्याको कारण पनि एमालले कतिपय ठाउँमा सोचे जस्तो मत प्राप्त गर्न एमालेका नेता-कार्यकर्ताले चुनावलाई गम्भीरताका साथ नलिँदा यो अवस्था आएको उहाँको भनाइ छ । मैले वा मेरो मान्छेले टिकट नपाउँदा देखाइदिन्छु भन्ने धारणा र चनावमा भोट हाल्नै नजाने दलाल प्रबृत्तिले पार्टीले सोचेको परिणाम ल्याउन नसकेको उहाँले बताउनुभयो ।

पोखरेलले पार्टी भित्र लोकतान्त्रिक संस्कृति विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो । त्यसले मात्र पार्टीलाई जनताको बिचमा स्थापित गराउन सक्ने उहाँको भनाइ छ । पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई हार र जीतको रूपमा लिनु नहुने बताउनुभयो । उहाँले आन्तरिक प्रतिस्पर्धालाई सधैँ जितमा पुर्याएर टुङ्ग्याउनु पर्ने स्पष्ट पार्नुभयो । ‘यसलाई हारजितको रूपमा भन्दा पनि निश्चित समयका लागि जिम्मेवारी प्रदान गरेको विषयका रूपमा बुझ्नु पर्दछ, मिलेर पार्टी निर्माणको काममा जुट्नु पर्दछ’, उहाँले भन्नुभयो ।

आन्तरिक लोकतन्त्रको उद्देश्य भनेको एकता निर्माण गर्ने नै भएको उहाँले बताउनुभयो । यसले उन्नत संस्कार निर्माणमा सहयोग गर्ने पोखरेलले स्पष्ट पार्नुभयो । गएको निर्वाचनमा वाग्मती प्रदेशको नतिजा सोचे भन्दा नराम्रो आएको बताउँदै पोखरेलले यो प्रतिकूलतालाई अनुकूलतामा बदल्न पार्टी एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो । एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कसको के भूमिका हुन्छ भन्ने कुरा बुझेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले अहिले पुराना असफल भए नयाँलाई रोज्नु पर्दछ भन्ने गलत भाष्य नेपाली समाजमा खडा गर्ने प्रयत्न भइरहेको भन्दै मुलुकबिरोधी हर्कत भइरहेको बताउनु भयो । जनतामा भ्रम पैदा गरेकै कारण चिन्दै नचिनेका, जनताको जीवनसँग नजोडिएका, कुनै त्याग र समर्पण नभएका मानिसहरू रातारात सेलिब्रेटी बनेर गएको निर्वाचनमा निर्वाचित भएका पोखरेलले बताउनुभयो । यो सबै निराशा र कुण्ठाको परिणाम भएको उहाँले बताउनुभयो ।

‘निराशा र कुण्ठाले समाजलाई सही बाटो दिन सक्दैन, समाजलाई सही बाटोमा कसरी डोर्याउने भन्ने कुरा जिम्मेवार राजनीतिक दल र तिनका नेता कार्यकर्ताको कर्तव्य हो भन्ने कुरा मनन गर्न सक्नु पर्छ’, पोखरेलले भन्नुभयो । नेतृत्व र नेताको विकल्प पुराना र जिम्मेवार पार्टीभित्रै खोज्नु पर्ने पोखरेलले बताउनुभयो । त्यसले मात्र राजनीतिक स्थायित्व दिने र देशले प्रगति गर्ने पोखरेलको धारणा छ ।

मुलुकमा नयाँ र पुराना दलको कुरा गरेर राजनीतिक अस्थिरता कायम गर्ने काम मात्र भएको उहाँले बताउनुभयो । त्यसैले अब नयाँ होइन, बलिया राजनीतिक दल निर्माणको काममा अघि बढ्नु पर्नेमा पोखरेलले जोड दिनुभयो । ‘देशलाई अस्थिरताको प्रयोगशाला नबनाऊँ, स्थिरतातर्फ लिएर जाऊँ’, एमाले महासचिव पोखरेलले भन्नुभयो ।

देशको इतिहासलाई बुझेको, नेपाली समाजलाई विश्लेषण गर्न सक्ने र स्पष्ट राजनीतिक दृष्टिकोण भएको नेता अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक कोही नभएको पोखरेलले बताउनुभयो । समाज बदल्न सक्ने नेतृत्व नेकपा एमालेसँग भएकाले जनता अलमलिन नहुने पोखरेलको भनाई छ ।

एमाले महासचिव पोखरेलले अस्थिर मनोविज्ञानले राष्ट्र निर्माणको काम पूरा गर्न नसकिने तथ्य पनि राख्नुभयो । राष्ट्र निर्माणका लागि दृढ आत्मबिश्वास तथा स्थिर र बलियो राजनीतिक शक्ति आवश्यक रहेको उहाँको भनाई छ ।

नेकपा एमालेलाई विभाजन गर्न विभिन्न शक्ति लागेर पार्टी फुटाउने काम गरेका पोखरेलले बताउनुभयो । तर नेकपा एमाले छोटो समयमा नै पुनः स्थापित भएको उहाँको भनाइ छ । तर पनि नेकपा एमालेलाई अझै एकल सरकार चलाउने बलियो शक्ति बन्ने जनमत नपुगेको उहाँले बताउनुभयो ।

राष्ट्रको लागि काम गर्ने बलियो राजनीतिक शक्ति बन्न नसकेको कारण देशले अहिले यो हविगत बेहोर्नु परेको पोखरेलले बताउनुभयो । जनताले नरुचाएका शक्तिले शासन गर्दा देशले नराम्रो हबिगत भोग्नुपरेको पोखरेलको भनाई थियो । त्यस्ता शक्तिले शासन गर्दा मुलुकलाई अधोगतिमा जानबाट रोक्न नसकिएको पोखरेलले बताउनुभयो ।

एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियान अन्तर्गत नेकपा एमालेले मिसन ग्रास रुट सञ्चालन गरेको उहाँले बताउनुभयो । सो अभियान नेपालको सबैभन्दा ठुलो राजनीतिक सर्वे भएको पोखरेलले दाबी गर्नुभयो ।

एमालेले भविष्यको कुरा गरिरहँदा त्यति बेलासम्म मुलुक रसातलमा भासिने अवस्था आएपछि एमाले अस्वाभाविक सत्ता गठबन्धन भत्काउने काममा लागेको उहाँले प्रष्ट पार्नुभयो । त्यसैको परिणाम अहिले नयाँ शक्ति सम्मिलित नयाँ समीकरण बनेको उहाँले बताउनुभयो ।