जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार १८:५७

असोज १३ मा ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्दै सरकार


काठमाडौं, असोज १० । सरकारले यही असोज १३ गते ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । खानेपानी मन्त्रालयले आज पत्रकार सम्मेलन गरी असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो ।

सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवको रुपमा मुलुकलाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले जानकारी दिनुभयो । मन्त्री मगरले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई अपिलसमेत गर्नुभयो ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको मन्त्री मगरले बताउनु भयो ।

अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिशामुक्त घोषणा गर्न सक्ने अवस्थामा आई पुगिएको खानेपानी मन्त्रालयले जनाएको छ । नेपालमा खुला दिशामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ । सोहीअनुसार खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको हो ।