जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १४:३०

कांग्रेस संसदीय मर्यादामा चल्न सकेन, सत्ता गुमेको पीडाले सदनमा आक्रोश र कुण्ठा मात्रै पोख्यो : केपी ओली


काठमाडौं, बैशाख २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाउनु भएको छ ।

हिउदे अधिवेशनको अन्तिम दिन आज संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो । अध्यक्ष ओलीले कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको र संसदीय मर्यादामा चल्न नसकेको बताउनुभयो ।

सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै अध्यक्ष ओलीले कांग्रेस तर्कमा आउन नसकेको बताउनुभयो । जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै अध्यक्ष ओलीले उत्तेजना नभइ संयमित ढंगले विधि अनुसार समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको पनि प्रष्ट पार्नुभयो । बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रवाधान रहेको छ । सोही कारण तयारीका लागि अधिवेशन अन्त्य गर्नुपरेको ओलीले प्रष्ट पार्नुभयो ।

‘कांग्रेसको बिरोधको कारण संसद अधिवेशन अन्त्य गरिएको होइन, बजेटको तयारीका लागि यस्तो गर्नुपरेको हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।