काठमाडौं, असोज १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा आज आयोजित नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतापछि झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको भएपनि अब चिलझैं उडान भर्ने घोषणा गर्नुभएको हो ।
‘अब हाम्रो उडान सुरु भएको छ । खोस्रिनेसम्म खोस्रिसक्यौं । कुखुरासँगै झण्डै एक वर्ष लुटपुटियौं । अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला, एक वर्षमा यो पार्टी सम्पूर्ण नेपाली जनताको एक मात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा क्षति भएको यथार्थलाई सवैले स्वीकार गरिएको बताउनु भयो । यस्तो अवस्था हुँदैहुँदैन भन्दाभन्दा पार्टी एकता प्रक्रिया हात्ती छिरेसरह भइसकेको तर पुच्छर मात्र अड्किएको अवस्थामा रहेको उहाँले बताउनु भयो । पार्टी एकता भएको लामो समय बितिसक्दा पनि नेकपाको साँगठानिक एकताले पुर्णता पाउन सकेको छैन । अध्यक्ष प्रचण्डले सोही बिषयमा कार्यकर्तालाई जानकारी गराउनु भएको हो ।
‘लेनिनले रोजाको सन्दर्भमा भनेको कुरा मलाई याद आउँछ । चिल पनि कहिलेकाहीँ कुखुराजस्तो गरेर जमिनमा आएर खोस्रिन्छ । तर कुखुरा कहिल्यै चिल जस्तो आकाशमा उडान भर्न सक्दैन । कम्युनिस्टहरु चिल हुन, उड्न थालेपछि आकासको त्यो उचाईमा पुग्छ, जहाँ अरु पुग्न सक्दैननन,’ प्रचण्डको भनाई थियो । उहाँले देशी बिदेशी प्रतिक्रियावादीले दयाले नभई नेतृत्वले असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको घोषणा पनि गर्नुभयो ।
पार्टी नेतृत्व पंक्तिको जीवनलाई हेर्यो भने ठूलो फड्को, उपलब्धी र क्षतिबाट आएको तथ्य पनि उहाँले राख्नुभयो । ‘हामीलाई के कन्फिडेन्ट छ भने कुखुराहरुले खोस्रेजस्तो या स्यालहरुले कराएजस्तो सिंहको गर्जन हुँदैन । सिंहले गर्जिन थालेपछि कोही अगाडि पर्न सक्दैन । हामी त्यसैगरी अगाडि बढ्छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले ब्यवस्थाबिरोधी प्रेतलाई मास्ने क्षमता आफूहरुसँग रहेको पनि बताउनु भयो ।
‘प्रेतहरुलाई कसरी मन्सिन पर्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । हामीले हिजो बलिया भनिएका भूत प्रेतलाई तह लगाएर, पुरेर आएका हौं । अब त्यो शक्ति देखाउनु छ, देखाउँछौं,’ उहाँले भन्नुभयो । उहाँले अब घिस्रिएर नभई फड्को हानेर अगाडि बढ्ने भन्दै सोहीअनुसार तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । अव छिट्टै केन्द्रीय कमिटी बैठक बोलाएर अभियान लिएर जनतामाझ जाने घोषणा पनि उहाँले गर्नुभयो ।
‘१० लाख कार्यकर्ता, ५ लाख जनवर्गीय संगठन सदस्य भएको पार्टी एउटै विचार, एउटै मन लिएर अभियानमा गयो भने भुतप्रेतहरुको हालत के होला ? तपाईहरु आफैं कल्पना गर्नुस,’ अध्यक्ष प्रचण्डको भनाई थियो । प्रचण्डले केही मान्छेले होहल्ला गर्दैमा नेकपा चुप लागेर नबस्ने चेतावनी पनि दिनुभयो । वैज्ञानिक आलोचना गरे, गल्ती कमजोरी औल्याए स्वीकार गर्ने तर तथाकथित आलोचना, बकवासहरुलाई वास्ता नगर्ने उहाँको भनाई छ । ‘कार्लमाक्र्सले भने जस्तै हामी पनि स्यालहरु गराउँदै गर्छ, हात्ती लम्कदै गर्छ गरेर आफ्नो गन्तव्यसम्म पुगिछाड्नेछौं,’ अध्यक्ष प्रचण्डको घोषणा थियो ।
अर्को दशैंतिहारसम्म पार्टी अर्कै ठाउँमा पुग्ने घोषणा पनि उहाँले गर्नुभयो । ‘जसले सस्तो आलोचना गरेका छन, उनीहरुको हालत के हो म हेरेर बसिरहेको छु,’ उहाँको भनाई थियो, ‘हामीले मुठ्ठी उठाउन मात्र ढिलो हो । एक पटक संकल्प गरेर अभियानमा हेलिनेवित्तिकै एउटा, दुईटा पाँच वर्ष मात्र होइन, कयौं अवधिसम्म जनताको लोकप्रिय मतसहित समाजवादी समाज निर्माण गर्ने गन्तव्यमा पुग्नेछौं ।’ पार्टीले आगामी दिन चलाउने अभियानमा एक मन, एउटै विचारका साथ अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले निर्देशनदिनुभयो ।
प्रतिक्रिया दिनुहोस्