जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १६:२१

मुगुको एनआईसी एशिया बैंक फोडेर जुत्ता र खुकुरी चोरी


मुगु, २ बैशाख । मुगुस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति सवा नौ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैँकभित्र पसेको सीसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैंकमा एक जना मात्र सुरक्षाकर्मी थिए ।

उहाँ राति ८ बजेसम्म मात्रै ड्युटीमा बस्ने गर्नुहुन्थ्यो । सुरक्षा गार्ड नभएको मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ । प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ । बैंकको ढोका फोर्ने तथा जुत्ता र खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।