जनता टाइम्स

२ बैशाख २०८१, आईतवार १९:५१

सरकारले गर्यो ५ सचिवको सरुवा, को कहाँ पुगे ?


काठमाडौं, बैशाख २ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निजामती सेवाका पाँच जना राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरु अर्थात सचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आवश्यकताको आधारमा सचिवहरुको सरुवा गरिएको बताउनु भयो । उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव दिनेश भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा हुनुभएको छ ।

यस्तै महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएको छ । तथ्यांक कार्यालयका तत्कालीन सचिव तोयम राय महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस हुनुभएपछि रिक्त रहेको थियो ।

संबैधानिक परिषदको बैठकले रायलाई महालेखा परीक्षक नियुक्तिका लागि सिफारिश गरेपछि उहाँले सचिवबाट राजीनामा दिनुभएको थियो । यस्तै उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ ।