जनता टाइम्स

२ बैशाख २०८१, आईतवार २१:४८

एमाले सचिवालयले तय गर्यो महाधिवेशन प्रतिनिधि परिषद बैठकको एजेण्डा, यस्ता छन मुख्य बिशेषता


काठमाडौं, बैशाख २ । नेकपा एमालेले यही वैशाख ८ र ९ गते हुन लागेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकको एजेण्डा तय गरेको छ । एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद बैठकको एजेण्डा तय गरेको हो ।

एमालेको सचिवालय बैठकको मुख्य एजेण्डा नै महाधिवेशन परिषद्को बैठकको तयारी रहेको र सोही बिषयमा छलफल केन्द्रित रहेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

’आजको बैठकको मुख्य एजेण्डा वैशाख ८ र ९ गते हुने महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकको एजेण्डाहरुबारे छलफल भयो, सो परिषद्को बैठक हामीले सनराईज हल गोदावरीबाट ०८१ वैशाख ८ गते बिहान ११ बजे सुरु गर्नेछौं,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीका अनुसार बैठकमा दशौं महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ महाधिवेशन प्रतिनिधि र विभिन्न आयोगका पदाधिकारीसहित २ हजार ५ सय जना सहभागी हुने छन । बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने उहाँले बताउनुभयो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नुहुने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । ४ वटा आयोग र परिषद् सल्लाहकारका प्रतिवेदन पनि पेस गरेर व्यापक छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

आगामी निर्वाचनमा पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि गर्नुपर्ने कामलाई केन्द्रमा राखेर परिषद् बैठकमा एजेण्डा राखिएको छ भने सोही बिषयमा छलफल हुने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट आगामी चुनावमा पार्टीलाई बहुमत ल्याउने गरी तयारी गर्न आवश्यक निर्णय हुने जानकारी पनि उहाँले दिनुभयो । ज्ञवालीका अनुसार गोदावरीमै वैशाख १० गते पार्टी स्थापनाको ७५औं वर्ष अर्थात् हीरक जयन्तीको अवसरमा राष्ट्रिय राजनीतिमा सन्देश दिने गरी विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा सवै दलका प्रमुख नेतालाई आमन्त्रण गर्ने एमालेले जनाएको छ ।

बैठकमा नयाँ सत्ता समीकरणको समीक्षा लगायत विषयमा छलफल भएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । नयाँ समीकरणपछि देश सही दिशामा अघि बढेको भन्दै उहाँले जनतामा आशा जगाउन सरकारले कामको गति अझ बढाउनु पर्ने बताउनुभयो । बैठकले नयाँ गठबन्धनपछि जनतामा आसा पलाएको ठहर पनि गरेको छ ।