जनता टाइम्स

३ बैशाख २०८१, सोमबार १६:०३

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’


काठमाडौं, ३ बैशाख । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु भएको हो । चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडान लगायतका काम बाँकी छ । सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो । सुरुङमार्ग अन्तर्गत तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा-सिस्नेरी सुरुङमार्ग आयोजनाले जनाएको छ । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो ।

१४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो । नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेट मै धादिङको सिस्ने खोला पुगिनेछ । मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ ।