जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १३:०८

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने


वीरगंज, ४ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज फेरि एक पटक विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनका लागि अहिले प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताउनुभयो । पछिल्लो केही समय पहिला केन्द्रमा समीकरण फेरिएसँगै मधेश प्रदेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सरकारमा सहभागी भएको थियो ।

कांग्रेसले सरकारबाट बाहिरिए सँगै गत चैत ९ गते नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो । सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको यो चौथो पटक हो । मधेस प्रदेशमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवले विश्वासको मत पाउन ५४ सदस्यको समर्थन आवश्यक पर्दछ ।