जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १६:३२

उत्तर कोरियाली नेता किम मिसाइल परीक्षणमा सहभागी


उत्तर कोरिया, बैशाख २२

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समुद्रमा शनिबार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । यस मिसाइल परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेता आफूले गरेको वाचा नतोड्ने पनि ट्रम्पले बताएका छन्। गत फेब्रुअरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो। सो शिखर सम्मेलनमा अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने किमको माग रहेको थियो।

सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो। किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ।