जनता टाइम्स

५ बैशाख २०८१, बुधबार १४:३९

पूर्वराष्ट्रपति बिद्या भण्डारीलाई प्रमुख अतिथी बनाएर जनसंगठनहरुको राष्ट्रिय महिला भेला गर्दै एमाले


काठमाडौं, बैशाख ५ । नेकपा एमालेका जनसंगठनहरुको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरुको राष्ट्रिय महिला भेला आयोजना गर्ने निर्णय गरेको संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

बैठकपछि संयोजक ढकालले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धीलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरुको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको हो । सो भेलाको प्रमुख अतिथी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरिएको ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रमुख अतिथी भण्डारीले उदघाटन र अध्यक्ष केपी शर्मा ओलीले समापन गर्ने गरी राष्ट्रिय महिला भेलाको कार्यक्रम तय गरिएको छ । ‘नेपाली महिला आन्दोलनको नेता र पहिलो महिला राष्ट्रपति बिद्यादेवी भण्डारीलाई उहाँले नेपालको प्रजातान्त्रिक तथा महिला आन्दोलनमा पुर्याउनु भएको योगदानका कारण प्रमुख अतिथी बनाउने निर्णय गरेका छौं, त्यसैअनुसार उहाँलाई कार्यक्रमको उदघाटनका लागि निमन्त्रणा गर्ने निर्णय गरिएको छ,’ संयोजक ढकालले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुअघि अनेमसंघको अध्यक्ष र नेकपा एमालेमा उपाध्यक्षको भूमिकामा रहनुभएको थियो । उहाँकै नेतृत्वमा संसदमा संकल्प प्रस्ताव दर्ता भई राज्यका हरेक जननिर्वाचित निकायमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य हुनुपर्ने ब्यवस्था गरिएको थियो । सो प्रस्ताव २०६३ जेठ १६ गते बसेको संसदको बैठकबाट पारित भएको हो ।

पूर्वराष्ट्रपति भण्डारीको सोही योगदानको उच्च कदर गर्दै जनसंगठनको महिला राष्ट्रिय भेलाको प्रमुख अतिथी बनाउने निर्णय जनसंगठन समन्वय संयन्त्रको बैठकले गरेको संयोजक ढकालले जानकारी दिनुभयो । सो भेलामा उठेका बिषयलाई समापनको अवसरमा अध्यक्ष ओलीले स्पष्ट पार्ने उहाँको भनाई छ । बैठकले राष्ट्रिय महिला भेलाको ब्यवस्थापनका लागि अनेमसंघका अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय ब्यवस्थापन कमिटी गठन गरेको छ ।

समितिको सचिवमा एमाले केन्द्रीय सदस्य तथा बागमति प्रदेश जनसंगठन संयोजक रचना खडका रहनुभएको छ । यसैगरी नेपाल बुद्धिजीवि परिषदका इञ्चार्ज बिद्या भट्टराईसहित पेम्बा लामा, जमुना बर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य रहनुभएको छ ।

राष्ट्रिय महिला भेलामा सवै जनसंगठनमा रहेका महिला पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला तहसम्मका महिला बिभाग प्रमुखलाई सहभागी गराउने मापदण्ड तय गरिएको छ । अनेमसंघको हकमा भने महिला बिभाग प्रमुख हटाएर जिल्ला अध्यक्षसम्म मात्रै सहभागी गराउने मापदण्ड पारित गरेको संयोजक ढकालले बताउनु भयो ।

भेलामा जनसंगठनमा आवद्ध रहेका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पनि सहभागी गराउने निर्णय गरेको छ । एमाले जनसंगठनको केन्द्रीय कमिटीमा ७६ जना पदाधिकारी रहेका छन ।

यसैगरी बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकका लागि आवश्यक सवै तयारीका काममा सघाउने निर्णय गरेको छ । एमालेले यही बैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाधिवेन प्रतिनिधि परिषदको पहिलो बैठक आयोजना गरेको छ ।

सो बैठकपछि वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा गोदावरीमै बिशेष कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा एमालेले सवै दलका प्रमुख नेतालाई बक्ताका रुपमा बालाउने निर्णय गरिसकेको छ । सो कार्यक्रममा आफ्नो संगठनको तर्फबाट बिशेष रुपमा उपस्थिति गराउन बैठकले सवै जनसंगठनलाई निर्देशन दिएको छ ।

यसैगरी बैठकले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा जेठ र असार महिनाभर बिशेष कार्यक्रमको आयोजना गरी मनाउन सवै जनसंगठनहरुलाई निर्देशन दिएको एमाले केन्द्रीय सदस्य तथा बागमति जनसंगठन संयोजक रचना खडकाले जानकारी दिनुभयो ।

अघिल्ला बर्षहरुमा पनि जेठ र असार महिनाभर सवै जनसंगठनहरुले बिशेष कार्यक्रमको आयोजना गरी मनाउँदै आएका थिए । बिगतका जसरी नै यस बर्ष पनि बिशेष कार्यक्रम गर्न निर्देशन दिइएको खडकाले जानकारी दिनुभयो ।