जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १०:१२

मिटर ब्याजी परदेशी जेल चलान


मलंगवा, असोज ११

हजार दिएर लाखौं असुल्ने मिटर ब्याजी श्याम परदेशी पूर्वपक्षका लागि कारागार चलान भएका छन् । सर्लाही मलंगवा नगरपालिका ४ बस्ने परदेशी भनेर चिनिने श्यामकृष्ण साह कलवारलाई जिल्ला अदालत सर्लाहीले शुक्रबार साँझ पूर्वपक्षका लागि कारागार चलान गरेको हो ।

ठगी, अपराधिक, विश्वासघात तथा अपराधिक लाभ सम्बन्धि कसूरमा परदेशीलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिनुभयो । साढे ३ घण्टासम्म चलेको बहसमा प्रमुख जिल्ला न्यायधीश रामकृष्ण कोइरालाको एकल इजलाशले परदेशीलाई जेल चलान गरिएको छ । दिउँसो ३ बजेदेखि चलेको बहस साँझ साढे ६ बजे सकिएको थियो । तत्काल प्रमाणका अधारमा परदेशीलाई गौर कारागारको कार्यालय रौतहट पठाउने आदेश गरिएको छ।

रूकमणी चौधरीलगायतको जाहेरवालाले दिएको उजुरीको अधारमा बाढी नेपाल सरकारको तर्फबाट सहायक न्यायधिवक्ता युवराज शर्माले बहस गरेका गर्नुभएको थियो । त्यसैगरी जाहेरवालाको तर्फबाट अधिवक्ता तीर्थराज घिमिरे, अमृतराज चालिसे र राजेन्द्र प्रसाईंले बहस गर्नुभयो ।

अदालतले पूर्वपक्षका लागि आदेश गरे पनि अबेर भएकाले परदेशीलाई जिल्ला प्रहरी कार्यालयमै शुक्रबार राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिनुभयो । शनिबार बिहानै परदेशीलाई गौर कारागारको कार्यालय रौतहट पठाउने प्रहरी नायव उपरीक्षक राठोरले बताउनु भयो ।

सर्लाहीमा कारागार भवन नभएको विभिन्न आभियोगमा पक्राउ परेकाहरूलाई अदालतको आदेशपछि छिमेकी जिल्लाको कारागारमा चलान गरिदैं आएको राठोरले बताए। ठगी, नक्कली तमसुक बनाउने, चलनचल्तीको भन्दा निकै बढी दरमा ब्याज लिने तथा महिला बालिकालाई अभद्र व्यवहार गरिएको आरोपमा परदेशीलाई भदौ १५ गते मलंगवाबाट प्रहरीले पक्राउ गरेका थिए। प्रहरीले उनलाई २५ दिनसम्म थुनामै राखे अनुसन्धानसमेत गरेका थिए।