जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार २०:२१

निर्वाचन क्षेत्रका मतदातासामू केपी ओलीले खुलासा गरे अहिलेको समिकरण पनि फेर्न लागेका तत्वको पोल


झापा, बैशाख ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जिताएर पठाउने निर्वाचन क्षेत्रका मतदातासामू अहिलेको समिकरण फेर्न लागेका तत्वको पोल खोल्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले देशको बिकास नचाहने तत्वहरु अहिलेको सत्ता समीकरणसमेत फेर्ने अभियानमा लागेको खुलासा गर्दै पोल खोल्नुभएको हो । गृहजिल्ला झापाको आफ्नै निर्वाचन क्षेत्र गौरादहमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले यस्तो खुलासा गर्नुभयो ।

‘देशको विकास नचाहाने तत्वहरु एमालेको विरुद्ध लागेका छन, उनीहरुको निरन्तर आक्रमण जारी नै छ । तिनै तत्वले अहिलेको नयाँ समीकरणसमेत भत्काउने प्रयास गरिरहेका छन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो । उहाँले अहिलेको सरकारले जनअपेक्षा अनुसार काम गर्ने जानकारी पनि दिनुभयो । एमालेले सरकार छाडेपछि विकासको गति रोकिएको भन्दै उहाँले अहिलेको सरकारले विकासका काम अघि बढाउने बताउनुभयो ।

एमालेले सरकारमा छँदा ३ वर्षको अवधिमा धेरै काम गरेको भन्दै अध्यक्ष ओलीले एमालेले कसरी काम गर्छ भन्ने कुरा जनताले बुझेका उहाँको भनाइ छ । यस्तै उहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा आफूहरु लागिपरेको जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीमा स्वागत गर्नुभएको छ ।